
काठमाडौं, २४ असार । बाढीपहिरोका कारण ठूलो समस्यामा परेका मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरूसहितका संघ संस्थालाई नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले आर्थिक सहयोग गरेको छ ।
सुलभ फार्मेसी मेलम्चीका भरत राय, हेलम्बु गाउँपालिका ७ स्थित चनौटे मेडिकल सेन्टरका जीवनराज अर्याल र ज्योती फार्मेसीका विदुर ज्योतिलाई २०÷२० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । बाढी पहिरोका कारण ती फार्मेसीको भौतिक संरचनामा व्यापक क्षति पुग्नाका साथै औषधिहरू समेत बगाएको थियो ।
निवर्तमान स्वास्थ्यमन्त्री तथा संघीय संसदमा सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने शेरबहादुर तामाङ, काठमाडौं–३ का सांसद कृष्ण राई, नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, वागमती प्रदेशका अध्यक्ष धुव्रनारायण श्रेष्ठ लगायतको उपस्थितिमा आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
त्यस्तै बाढीपहिरोबाट हुने क्षति कम गर्न जालीबार लगाउने तथा अन्य संरचना बनाउन क्रियाशील चनौटे बजारस्थित हेलम्बु युवा समाज क्लबलाई पनि ४० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै हेलम्बु गाउँपालिका–४ स्थित क्षतिग्रस्त सरस्वती माविको सहयोगार्थ ग्यालथुम बजार संरक्षण समितिलाई पनि नगद ४० हजार रुपैयाँ उपलब्ध गराइएको जनाइएको छ ।
त्यसैगरी मेलम्ची नगरपालिका–६ तालामाराङस्थित तेर्से माविमा क्षति पुगेकाले पुर्ननिर्माणका लागि ४० हजार रुपैयाँ प्रदान गरिएको छ । बाढी पहिरोका कारण विस्थापित तथा विचल्लीमा परेकाहरूको सहयोगमा सक्रिय रही मेलम्चीलाई पुरानै अवस्थामा फर्काउन प्रयासरत ‘हाम्रो टीम’ मेलम्चीका सागर श्रेष्ठको उपस्थितिमा संस्थाका आर्थिक विभाग संयोजकलाई ४० हजार रुपैयाँ प्रदान गरिएको छ ।

पीडित औषधि व्यवसायीहरू तथा सामाजिक संघ संस्थाहरूलाई सहयोग गर्न औषधि व्यवसायीहरू विमल कोइराला र रत्नबहादुर कार्की संयोजकत्वमा समिति गठन गरिएको थियो । बाढी पहिरको कारण विपतमा परेका औषधि व्यवसायीहरूलाई आगामी दिनमा पनि सहयोग गरिने नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले जनाएको छ ।
विभिन्न प्रकारका प्राकृतिक एवं अप्राकृतिक विपतसँग जुध्न एक राहत कोष स्थापना गर्ने शाखाको तयारी छ । सहयोगका लागि अन्य जिल्लाका औषधि व्यवसायीहरू सँग पनि समन्वय गरिने शाखाले जानकारी दिएको छ ।
विपत्को अहिलेको समयमा नेपाल औषधि व्यवसायी संघ केन्द्र, औषधि व्यवसायी संघ झापा लगायत अन्य औषधि व्यवसायीहरूले पनि विशेष आर्थिक सहयोग गरी थप हौसला प्रदान गरेको संयोजक विमल कोइरालाले बताए ।















प्रतिक्रिया