
काठमाडौं, २४ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद र कुराकानी भएको छ ।
होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले अब एकजुट हुने संकेत देखिएको हो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मतभेद नभए पनि उनीहरू दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको सँघारमा पुगेको थियो ।
तर दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन् । कार्यदलका सदस्यसँग दुवैको सामूहिक भेटघाट र छलफल भएपछि ओली नेपाल ‘वान टु वान’ वार्तामा बसेका थिए ।
वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रूप दिने सहमति भएको जनाइएको छ । ओली र नेपालबीच विभिन्न विषयमा छलफल भए पनि बुधबार नै सहमति भने जुट्न सकेन । यद्यपि, विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ ।
पार्टीभित्रको विवाद समाधानका लागि बुधबार बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको र पार्टी शीर्ष नेतासँग छलफल गरेर बिहीबार अन्तिम रूप दिने भएका छन् । यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवादित विषयमा सहमति जुटाउने सार्थक प्रयास गरेको थियो ।
विवादित सबै विषयमा कार्यदलका सदस्य सहमतिनजिक पुगेको र त्यसलाई अन्तिम रूप दिनुभन्दा अघि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग कार्यदलका सदस्यले छलफल गरेका हुन् ।
एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको छलफल सकारात्मक भएको बताए । ‘अब छिटै निकास निस्कनेमा आशावादी छौं,’ पाण्डेले भने ‘संयुक्त विज्ञप्ति आउने विषय धेरै अघि बढेको छ, सम्भवत छिटै आउनेछ ।’
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद भएपछि पार्टी एकताका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको थियो । कार्यदलबीच केन्द्रीय कमिटीको संख्या, पार्टी २ जेठ २०७५ मा फर्किने, एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरूको व्यवस्थापन, सर्वोच्च अदालतमा दायर रिटलगायतका विवादित विषयमा सहमति जुटेको एमाले स्रोतको दाबी छ ।
यी विषयमा भाषा मिलाउने विषयमा ओली र नेपालसँग कार्यदलका सदस्यले छलफल गरेको बताइएको छ । ओली र नेपालबीच भएको छलफलमा धेरै विषयमा सहमति जुटेमा केही विषयमा सहमति जुट्न बाँकी रहेको बताइएको छ । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया