
काठमाडौं, २२ असार । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो खोप लगाएका सबैलाई आज मंगलबारदेखि दोस्रो डोज लगाइँदै छ ।
एक महिनाअघि पहिलो डोज लगाएकाहरू र त्यसअघि पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरूले खोप लगाउन पाउने छन् । खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख छ ।
यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको बताइएको छ । पहिलो मात्रा लगाएकाले कार्ड अनिवार्य देखाउनुपर्ने छ । देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो डोज लगाइएको थियो ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको लक्षित समूहको प्राथमिकीकरणअनुसार अब २ करोड १७ लाख ५६ हजारलाई खोप लगाउनु पर्ने छ । अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा लगाएका छन् ।
२६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ४२ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यस्तै, सरकारले चीनबाट १५ दिनभित्र ४० लाख डोज भेरोसेल खोप ल्याउँदैछ ।















प्रतिक्रिया