७ कार्तिक २०८३, शनिबार

माथिल्लो तामाकोशीबाट आजदेखि विद्युत् उत्पादन शुरू गरिँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आज सोमबारदेखि विद्युत उत्पादन शुरू गरिने भएको छ ।

कूल ४५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागिएको हो । पहिलो युनिटको क्षमता ७६ मेगावाट छ ।

सो आयोजनाको बालुवाटारबाट आजै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजनाका प्रवक्त डा. गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाले हिजो आइतबार विद्युत् गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७ दशमलव २ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो ।

त्यस्तै शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो । यस्तै जीआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ ।

आयोजनाबाट उत्पादित बिजुली बिद्युतगृह रहेको गोंगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्ने छ अनि ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । यो स्वदेशी लगानीमा सम्पन्न हालसम्मकै ठूलो आयोजना हो ।

यस्तै यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ ।