काठमाडौं, २० असार । अनुमान गरिएभन्दा दोब्बर समय लागेर राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा आइपुगेको छ । आयोजनालाई आगामी आइतबार वा सोमबार उद्घाटन गरी पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु गर्ने आयोजना व्यवस्थापनको तयारी छ ।
पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु भएलगत्तै हरेक साता थप अर्को युनिटबाट परीक्षण उत्पादन सुरु हुने आयोजनाको तयारी छ । ४ सय ५६ मेगावाट जडित क्षमता भएको आयोजनामा कुल ६ वटा विद्युत् उत्पादन युनिट छन् । यो आयोजना पूर्ण रूपमा सञ्चालनमा आएसँगै वर्षायाममा नेपाल विद्युत्मा आत्मनिर्भर बन्नेछ । नेपालका आन्तरिक जलविद्युत् आयोजना पूर्ण रूपमा सञ्चालन हुने वर्षायाममा पनि नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक २ सय मेगावाट विद्युत् आयात गरिरहेको छ ।
माथिल्लो तामाकोसी आयोजनाका दुई वटा युनिटबाट उत्पादन हुने विद्युत् नेपालको आन्तरिक खपतका लागि उपयोग हुने प्राधिकरणका कार्यकारी निर्देशक एवम् माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका अध्यक्ष हितेन्द्रदेव शाक्य बताउँछन् । ‘परीक्षण उत्पादनसँगै हरेक साता थप एउटा युनिटको परीक्षण उत्पादन सुरु हुन्छ,’ उनले भने, ‘अहिले पनि भारतबाट विद्युत् आयात भइरहेकाले तामाकोसीका दुई वटा युनिटबाट उत्पादन सुरु भएसँगै आयात शून्यमा झर्ने हाम्रो अनुमान छ ।’
माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् आन्तरिक खपत गर्दा बढी भए ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत निर्यात गर्ने प्राधिकरणको तयारी छ । तर यसका लागि प्राधिकरणले हालसम्म भारतीय पक्षबाट अनुमति पाइनसकेको शाक्यले बताए । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले केही महिनाअघि जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाअनुसार प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा पहुँच पाइसकेको छ ।
उक्त निर्देशिकामा भारतीय कम्पनीलाई प्रतिनिधि तोकेर भारतसँग ऊर्जा व्यापार सम्झौता भएका छिमेकी मुलुकले इनर्जी एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गर्न सक्ने प्रावधान छ । सोहीअनुसार प्राधिकरणले भारत सरकारको स्वामित्वमा रहेको एनभीभीएनलाई आफ्नो प्रतिनिधि तोकेर हरेक दिन प्रतिस्पर्धी दरमा विद्युत् खरिद गरिरहेको छ । कान्तिपुर दैनिकमा विजय तिमिल्सिनाले समाचार लेखेका छन् ।















प्रतिक्रिया