
काठमाडौं, १९ असार । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको प्रयासपछि पार्टीका असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालसँग टेलिफोन सम्वाद भएको छ ।
आज शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको बताइए पनि के–के कुरा भए भन्ने विषय सार्वजनिक गरिएको छैन । यसअघि ओलीले माधव नेपालसँग नभेटेपनि टेलिफोन सम्वाद गर्न खोज्दा सम्पर्कमै नआएको बताएका थिए ।
ओलीले शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल टेलिफोन सम्वाद गर्नसम्म तयार नभएको ब्रिफिङ गरेका थिए । त्यसको भोलिपल्टै आज दुई नेताबीच टेलिफोन सम्वाद भएको हो ।
ओलीले शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थनसहितको हस्ताक्षर फिर्ता गर्ने दुई दिनको अल्टिमेटम दिएसँगै पार्टी एकताको सम्भावना कमजोर बनेको चर्चा हुन थालेको छ ।
सोही चर्चाकाबीच नेता ओली र नेपालबीच टेलिफोन सम्वाद भएको छ भने पार्टीका दोस्रो तहका नेताहरूले एकताका लागि छलफललाई निरन्तरता दिँदै आएका छन् ।















प्रतिक्रिया