३० आश्विन २०८३, शुक्रबार

पार्टीलाई पुरानो संरचनामा फर्काउने एमालेको निर्णय

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गराएका छन् ।

पुराना सबै कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहेका अध्यक्ष ओलीले मंगलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर सो निर्णय गराएका हुन्।

बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गराउने र नवौं महाधिवेशनपछिका सबै संरचनामा पार्टी फर्काउने निर्णय भएको पार्टीप्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

नेपाल समूहले राखेको मागअनुसारै ओलीले बुधबार महाधिवेशन आयोजक कमिटी भंग गर्न र पुराना कमिटी ब्युँताउन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

सोहीअनुसार आयोजक कमिटीको बैठक बस्ने भएको छ। ‘नेकपा एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको छ, यो निर्णयसँगै सबै संरचना पुरानै अवस्थामा आएका छन्,’ पार्टीप्रवक्ता ज्ञवालीले भने।

बैठकले एमालेका दुई वरिष्ठ नेता, पदाधिकारी तथा स्थायी कमिटी सदस्य यथावत् रहने निर्णय गरेको छ। सो बैठकका अनुसार झलनाथ खनालको वरीयता ओलीपछि र नेपालको वरीयता खनालपछि हुनेछ ।

अर्थात् एमालेमा नेपालको स्थान अब ओलीपछि तेस्रो हुनेछ। बुधबार बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित कारबाही गरिएका ११ जनाबाहेक नेपाल पक्षका नेतालाई पनि बोलाइएको छ।

यद्यपि नेपाल पक्षका नेताले सो बैठकमा सहभागी नहुने बताएका छन्। ‘महाधिवेशन आयोजक कमिटीलाई नवौं महाधिवेशनको विधानले चिन्दैन,’ नेपाल पक्षका नेता ठाकुर गैरेले भने ।

उनका अनुसार एमालेको केन्द्रीय कमिटी मात्रै एमालेको विधानले चिन्नेछ । उनका अनुसार यो निर्णयसँगै पार्टीको विवाद मिलान गर्ने बिन्दुको सुरुवात भएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी अलग गरिदिएपछि एमाले अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूको मात्रै बैठक बोलाएर पदाधिकारी सबै भंग गरी अध्यक्ष र महासचिव मात्रै कायम गरेका थिए ।

उनले त्यही बेला केन्द्रीय कमिटी विघटन गरेर १०औं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए भनेर नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।