
काभ्रे, ११ असार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ६५ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको दशौँ नगरसभामा नगर प्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरिएको बताए ।
बजेटमा चालुतर्फ रु ५० करोड ७७ लाख र पुँजीगततर्फ रु १४ करोड ८२ लाख ४७ हजार ५३० खर्च प्रस्ताव गरिएको छ । नगरपालिकाले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने र ‘छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा’ तथा ‘पर्यटन उद्यमीको हात, नमोबुद्धको साथ’ नीति तय गरेको छ ।
त्यससँगै ‘किसानका गरा सधैँ हराभरा, मेरो कृषि मेरो पौरख’ नारालाई अगाडि सार्दै आगामी आर्थिक वर्षमा नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गर्ने नीति तय गरेको नगर प्रमुख तिमिल्सिनाले बताए । नगरले कृषिसँगै ‘पर्यटन उद्यमीको हात, नमोबुद्धको साथ’ नारालाई समेत अगाडि सारेको छ ।
छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा
नगरपालिको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिला र बालबालिका मैत्री नीति तथा कार्यक्रमअन्तर्गत दुई छोरी मात्र जन्माएर स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने घोषणा नमोबुद्ध नगरपालिकाले गरेको छ ।
‘नगरको इच्छा, छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा’ भन्ने नारालाई सार्थक बनाउने तथा किशोरीहरूलाई विभिन्न खाले हिंसाबाट बच्न आत्मरक्षा तालिम सञ्चालन गर्ने तथा बालश्रम मुक्त नगर घोषणा गरिने योजनामा उल्लेख गरिएको छ ।
नगरसभा बैठकमा उपप्रमुख रामदेवी तामाङले चालु आर्थिक वर्षको प्रगति विवरण पेश गर्नुका साथै चालु आर्थिक वर्षमा रु ७१ करोड ५१ लाख ९९ हजार २७० बिनियोजन भएकोमा हालसम्म रु ३८ करोड ७७ लाख खर्च भएको तामाङले बताइन् ।
कोरोना भाइरस महामारीका बाबजुद अधिकांश नगरस्तरीय र वडास्तरीय योजनाहरू ढिला गरी सम्पन्न हुने चरणमा रहेको र आर्थिक वर्षको अन्त्यसम्ममा अपेक्षाकृत प्रगति हासिल हुने उनको अपेक्षा छ ।
बैठकमा विधायन समिति संयोजक एवं वडा नं २ का अध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८, सार्वजनिक लेखा समिति संयोजक एवं वडा नं १० का अध्यक्ष रामकृष्ण अधिकारीले आर्थिक विधेयक २०७८ पेश गरेका थिए । –रासस












प्रतिक्रिया