३० आश्विन २०८३, शुक्रबार

रामनाथ ढकाललाई गालीगलौज गर्दै आक्रमण प्रयास गरिँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramnath-dhakal-uml

गत चैत ६ गते राति साँढे १० बजेतिर हुनुपर्छ कमरेड रामनाथ ढकालको फोन आयो । दिनभरको कामको थकाईले प्रायः जसो १० बजे बिस्तारा पसिसकेको हुन्छु । तसर्थ उहांको फोन तत्कालै उठाउन सकिन र पछि कलब्याक गरेँ । उहाँ बुटवल आइपुग्नुभएको रहेछ । ‘दिनेशजी म बुटवल आइपुगेँ भनेर हेल्लो गरेको’ उहाँले कुरा नसक्दै मैले भोलि बिहान भेटछु भनेँ । उहाँले म पाल्पा जाँदैछु भोली भेट गर्न सकिएन, भन्नुभयो । पाल्पा रामपुरमा पार्टी नगर कमिटीको अधिवेशन छ, फर्केपछि साँझ भेटौँला भन्नुभयो । प्राय बुटवल आइपुगेपछि हाम्रो सम्वाद हुन्थ्यो, भेटघाट हुन्थ्यो पार्टीको सँगसँगै देशको राजनीतिक अवस्थाबारे छलफल हुन्थ्यो । त्यो सम्वाद नै उहाँसँगको मेरो अन्तिम सम्वाद हुनपुग्यो । मेरो व्यस्तताका कारण सधै हुने हाम्रो भेटघाट यसपटक हुन पाएन । आज मलाई पछुतो लागेको छ । हामी बिद्यार्थी राजनीतिको कखरा पढ्न थाल्दा उहां अनेरास्ववियूको नेतृत्वमा हुनुहुन्थ्यो । एउटा जुझारु युवा पछिल्लो समय नेपालको राजनीतिको प्रभावशाली ब्यक्तिको रुपमा स्थापित भैसकेको थियो ।

तत्काल आवेगमा नआउने रामनाथ ढकाल कतिपय अवस्थामा आफूमाथि प्रहार गर्नेहरुलाई मौन रहेर नतमस्तक बनाउनु हुन्थ्यो । गएको बर्ष युवा संघको बुटवल महाधिवेशनका सन्दर्भमा उहाँमाथि केहीले गालीगलौज गर्दै आक्रमण प्रयास गर्दा उहाँ चुप लागेर सहिदिनु भयो । उहँले प्रतिवाद गरेको भए परिस्थिति के हुन्थ्यो कल्पना गर्न सकिन्न । पछि उनीहरुले गल्ती गर्‍यौं भन्दै माफी मागे ।

भर्खरै मात्र रामनाथ ढकालले नेकपा एमालेको लुम्विनी अञ्चल इन्चार्जको रुपमा जिम्मेवारी पाउनु भएको थियो । लुम्विनीका एमाले कार्यकर्तामा उत्साह पैदा भएको थियो । युवा र प्रखर व्यक्तिको नेतृत्वमा एमालेले लुम्विनी अञ्चलको राजनीतिक र सामाजिक परिवर्तनको अभियान चलाउने आशा थियो । तर सम्भव भएन । उहाँले त्यो आफ्नो क्षमता प्रस्तुत गर्न पाउनु भएन । दैवले लाखौँ कार्यकर्ताको मन भाँचिदिएको छ । पार्टीइतरका अरु सर्बसाधारणहरुको पनि मन रोएको छ । कमरेड रामनाथ ढकालसँग ०५२ सालदेखि प्रत्यक्ष र दोहोरो चिनजान भएको थियो । एमालेका तत्कालिन सांसद महेन्द्र थापाको माध्यमबाट काठमाडौमा रामनाथ ढकालसँग मेरो पहिलो भेट भएको थियो । त्यसअघि गुल्मीको क्षेत्र नं १ को निर्वाचनका क्रममा छिमेकी जिल्लाको उहाकै क्षेत्रसँग जोडिएको राजनीति उत्सुक बासिन्दा र बिद्यार्थी कार्यकर्ताको हिसावले उहाँका कतिपय कार्यक्रममा भाग लिएको थिएँ । हंसिलो अनुहारका रामनाथ ढकालसंग बिशेष गरेर बृहत जनआन्दोलन २०६२/०६३ का क्रममा र अझ बढी नेकपा एमालेको आठौ महाधिवेशनका सन्दर्भमा सामिप्यता बढ्यो । त्यो एउटा संयोग थियो । नेकपा एमालेको आठौ महाधिवेसनको सम्पूर्ण व्यवस्थापनको जिम्मा कमरेड रामनाथ ढकाललाई थियो ।

आठौ महाधिवेशनका सन्दर्भमा भएको सवै कार्यक्रम छायांकन गर्ने गरी एमालेले लुम्बिनी टेलिभिजनलाई जिम्मा दिएको थियो । बुटवलले आतिथ्यता गर्ने काममा कमजोरी हुनुहुँदैन यसको सवै रेकर्ड रहनु आबश्यक छ भन्दै कमरेड भरतमोहन अधिकारी र रामनाथ ढकालको आग्रहलाई स्वीकार गरेर हामीले त्यो जिम्मेवारीलाई अवसरको रुपमा लिएका थियौं । फुर्तिलो शरिर र तन्दुरुस्त देखिने रामनाथ ढकालसँग बेला बेलामा रस्साकस्सी समेत भएको थियो । मन नपरेको कुरामा तत्काल आवेगमा आई हाल्ने मेरो स्वभावमा परिवर्तन ल्याउन उहाँले पटक पटक सुझाव दिनु हुन्थ्यो । आज म पटक पटक सम्झिन्छु जहिले पनि फोन गरेर दिनेशजी के छ रुपन्देहीको खवर ? बहिनी र नानी बावुको अवस्था कस्तो छ भनेर आत्मियता देखाउने उहाँको स्वभावलाई ।

Dinesh-Pandey
लेखक

स्वर्गीय ढकाल राज्य व्यवस्था समितिमा रहेका बेला बढ्दो सडक दुर्घटना न्युनिकरणका लागी राज्यव्यवस्था समितिले देशव्यापी छलफल चलाउने तयारी गरेको थियो । नेपालगञ्जमा कार्यक्रम भइसकेपछि मैले उहासँग सम्पर्क गरेर रुपन्देहीमा पनि यो कार्यक्रम गरौं भनेर आग्रह गरेँ । किनकी मेरो चासो दुर्घटना न्युनीकरण र यात्रुको सुरक्षाप्रति रहदै आएको छ । बिषय र चिन्ता मिलेकोले बुटवलमा दुर्घटना न्युनीकरणका सन्दर्भमा सरोकारवालाहरुका बीच अन्तरक्रिया कार्यक्रम गर्ने तयारीमा थियौँ । तर राष्ट्रिय राजनीतिको स्वरुप फेरिएकाले सम्भव भएन ।

स्पष्ट वक्ता रामनाथ ढकालको समन्वयकारी स्वभाव मनपर्दो थियो । आठौ महाधिवेशनको बेला पार्टीका नेताहरुलाई एक बनाएर निर्विरोध नेतृत्व चयन गर्ने प्रयत्न सफल हुन सकेन । नेताहरु एक नभए आफूले निर्वाचनमा भाग नलिने घोषण गरेर सबैलाई स्तब्ध पार्नुभएको थियो ।

पार्टीभित्र जसको खाँचो छ, त्यसैले उम्मेदवारी नदिँदा कार्यकर्ताको मन कुंडिनु स्वभाविक थियो । रामनाथ ढकालले त्यसलाई सहज रुपमा लिएर पार्टी नेतृत्वबाट बाहिर बस्नुभयो । तर पार्टीको कामबाट अलग हुनुभएन । यसले पार्टी काम गर्न नेतृत्वमा टाँसिनै पर्छ भन्नेहरुलाई गतिलो जवाफ बन्यो । तत्काल आवेगमा नआउने रामनाथ ढकाल कतिपय अवस्थामा आफूमाथि प्रहार गर्नेहरुलाई मौन रहेर नतमस्तक बनाउनु हुन्थ्यो । गएको बर्ष युवा संघको बुटवल महाधिवेशनका सन्दर्भमा उहाँमाथि केहीले गालीगलौज गर्दै आक्रमण प्रयास गर्दा उहाँ चुप लागेर सहिदिनु भयो । उहँले प्रतिवाद गरेको भए परिस्थिति के हुन्थ्यो कल्पना गर्न सकिन्न । पछि उनीहरुले गल्ती गर्‍यौं भन्दै माफी मागे ।

उहासँग मेरो व्यक्तिगत जीवनका कुराकानी भए सरकारी जागिरे जीवनबाट पत्रकारीतामा प्रवेश गरेदेखि आफ्नो बर्तमान अवस्थाबारे मैले जानकारी गराएको थिएँ । किनकी उहाँले मेरोबारे अलि बढी चासो राख्नु भएको थियो । आफ्नै अभिभावक जसरी पारिवारिक समस्या र अवस्थाबारे जानकारी लिने र सुझाव दिने कमरेड रामनाथ ढकालको निधनले स्तव्ध भएको छु । हात खुट्टा लुलिएका छन्, काम गर्ने जाँगर चलेको छैन । लाग्थ्यो, मान्छे मर्न बुढो हुनैपर्छ, युवा अवस्थामा दैवले कसैलाई जित्न सक्दैन तर गलत साबित भएको छ । उहाँ अस्पताल भर्ना भएदेखिनै आएको समाचारले मिनेट मिनेटमा झस्काइरहन्थ्यो । किनकी जुन अवस्थामा उपचार भैरहेको थियो, त्यसमा चमत्कार हुनेछ । आशा थियो, त्यो चमत्कारबाट रामनाथ ढकालले मृत्युलाई जित्नुहुने छ । तर मृत्यु बलियो रहेछ, हामी सबै कमजोर भयौं । अब युवा नेता ढकालको निधनको शोकलाई शक्तिमा बदल्न जरुरी छ । यदि यसो गर्न सकियो भने मात्रै उहाँले चलाएको अभियानलाई सफल बनाउन सकिन्छ । त्यसैले नेता ढकालको जुझारुपन, निडर, आत्मविश्वासी चरित्र, हँसिलो मुखारकृति संगै सबैलाई समन्वय गर्न सक्ने क्षमता, तार्किक शक्ति, विपक्षीका षड्यन्त्रलाई सहजै चिर्न सक्ने ताकतलगायतका उहाँका विशेषतालाई पार्टीका अरु नेता कार्यकर्ताले पनि सिक्न र अनुसरण गर्न जरुरी छ ।

मान्छे सर्बगुण सम्पन्न कोही पनि छैन् । मानिसमा कुनै न कुनै कमीकमजोरी रहेकै हुन्छ । कति अनावश्यक लाञ्छना, आलोचना, आरोपको पनि शिकार भएका हुन्छन त कतिले जानेर वा नजानेरै केही कमीकमजोरी गरेका हुन्छन् । नेता ढकालको जीवनमा पनि यस्ता केही घटना भएका होलान् तर, त्यसको केही अर्थ छैन् । समग्रमा नेता ढकाल सबैका प्रिय थिए । विरोध गर्नेहरुले जे जसरी विरोध गरे पनि त्यो क्षणिक आवेग हुनगयो । उहाँले मुलुकका लागि, कम्युनिष्ट आन्दोलनका लागि, समाज सुधारका लागि दिएको योगदानको उचित कदर हुन जरुरी छ । नेता ढकालको समन्वयकारी, उर्जाशील, प्रेरणादायी, सकारात्मक सोंचसहितको जुन नेतृत्वशैली थियो त्यसलाई सबैले अनुसरण गर्न जरुरी छ । हामीकहाँ मृत्युपछि नै बढी सम्मान र कदर गर्ने प्रवृत्ति छ । स्वर्गीय नेता ढकालप्रतिको असली सम्मान उहाँका अभियानलाई सार्थक बनाउनु बाट हुनेछ । यो काम पार्टी मातहतका कमिटीमा रहेका नेता, कार्यकर्ताले मात्रै होइन समाज सुधारमा रहेका सबैले अनुशरण गर्न आबश्यक छ । आदरणीय कमरेड रामनाथ ढकालप्रति हार्दिक श्रद्धा सुमन ।

(लेखक एमाले रुपन्देहीका प्रचारविभाग सचिव हुन् ।)