१५ कार्तिक २०८३, आइतबार

दोर्दी खोलाले हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २ असार । यहाँको दोर्दी गाउँपालिका–८ मा रहेको हिले बजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ ।

आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दी खोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।

उनले भने, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्छन्– “घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ ।”

एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ ।

त्यस्तै, पाँच/छ वटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताए । ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ ।

स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ ।

स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०–१२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन ।

“विगतमा पनि खोलामा बाढी नआएको होइन तर यसरी आएको पहिलो चोटि नै हो” वडाध्यक्षले भने । राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताए । –रासस