
काठमाडौँ, २ असार । नेकपा एमालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बाढीपहिरो पीडितहरुलाई सहयोग पुर्याउन आह्वान गरेका छन् ।
पोखरेलले केही दिन यता अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत विभिन्न जिल्लाहरूमा भीषण वर्षा तथा त्यसका कारण आएको बाढी र पहिरोले भएको जनधनको क्षतिले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै यस विपत्तीको घडीमा सरकारले अविलम्ब राहत उद्धारमा आफ्नो शक्ति परिचालन गर्नु आवश्यक रहेको बताएका छन् । त्यस्तै, आफ्नो पार्टीका संगठनहरुलाई यो विपतको अवस्थामा सहयोग पुर्याउन आह्वान गरेका छन् ।
यस्ताे छ पाेखरेलकाे आह्वान:
बाढी पहिरो पीडितहरूलाई सहयोग पुर्याउन आह्वान
केही दिन यता अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत विभिन्न जिल्लाहरूमा भीषण वर्षा तथा त्यसका कारण आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको समाचारहरू प्राप्त भएका छन् । नागरिकहरू पहिरोमा पुरिने र वेपत्ता भएको खबरले हामी सबैलाई दुःखित बनाएको छ। प्राकृतिक विपत्तीको यस घडीमा विपतमा पर्नुभएका दाजुभाइ– दिदीबहिनीहरूको सहयोगका लागि सरकारले अविलम्व राहत उद्धारमा आफ्नो शक्ति परिचालित गर्नु आवश्यक छ । नेकपा (एमाले) का सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्याउन – आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्दछु ।
– ईश्वर पोखरेल
महासचिव












प्रतिक्रिया