तुलसीपुर (दाङ), ३१ जेठ । तुलसीपुर उपमहागनरपालिका नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचनमा प्रतिवद्धता गरेका अधिकांश बाचा पूरा गरेको बताएका छन् ।
उपमहानगरको नवौं नगरसभा तथा वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले चुनावको समयमा जनताको माझमा प्रतिवद्धता गरेका अधिकांश बाचा पूरा गरेको बताउँदै बाँकी प्रतिवद्धताहरू एक वर्षको अवधिमा पूरा गर्नेगरी अघि बढ्ने बताए ।
मेट्रो कलेज स्थापना, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, एक वडा एक नगर स्वास्थ्य केन्द्र, खरको छानोमुक्त अभियान, टरिगाउँ एयरर्पोट संचालन, सुत्केरी भत्ता, तुलसीपुर बसपार्क व्यवस्थापन, उज्यालो तुलसीपुर, मेट्रो अस्पताल लगताएत भौतिक पूर्वाधार विकासमा देखिने गरी फड्को मारेको उनको दाबी छ । चार वर्षे कार्यकाल पूरा गरेर अन्तिम चरणमा आएकाले यस अवधिमा आफूले गरेका कामको समीक्षा र आगामी जनमुखी योजनाको विषयमा सँगसँगै हातेमालो गरेर अघि बढ्ने बेला आएको उनले बताएका छन् ।
विभिन्न राजनीतिक क्षेत्रबाट आए पनि चार वर्षे कार्यकाल सौहार्दपूर्ण वातावरण बन्नु र उपमहानगरपालिका नेपालमै नमूनाको रूपमा परिचित हुनुमा वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीको ठूलो सहयोग र साथ रहेको पाण्डेको भनाइ छ । आफूहरूले उठाएको खरको छानोमुक्त अभियाले राष्ट्रिय चर्चा र महत्व पाएको बताउँदै उनले खरको छानो भएकै कारण चुहिएर असुरक्षित भएका गरिब तथा विपन्न वर्गका घरमा टिनको छानो लगाइदिएर कोही नहुनेको सरकार हुन्छ भन्ने कुराको महसुश गराएको बताए ।

‘तुलसीपुर उपमहानगरपालिकाबाट शुरू भएको अभियान आज देशका ७७ वटै जिल्लामा लागु भएको छ । कोही नहुनेको सरकार छ । जनप्रतिनिधि छन् भन्ने कुराको हामीले महसुश बनाएका छौ,’ नगर प्रमुख पाण्डेले भने, ‘केही घरमा अझै पनि टिन लगाउनुपर्ने भएकाले यस आर्थिक वर्षमा पनि अभियानलाई निरन्तरता दिनेछौं ।’ तुलसीपुरले उठाएको स्वास्थ्यको अवधारणाले पनि देशभर सार्थकता पाएको उनको भनाइ छ ।
सो अवसरमा उपप्रमुख माया अचार्यले उपमहानगरपालिकामा भएका ४४ वटा अनुकरणीय कार्यक्रमको समीक्षा र प्रस्तुतीकरण गरेकी थिइन् । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको नगरसभामा १९ वटै वडाका वडा अध्यक्षहरूले आ–आफ्नो वडामा चार वर्षको अवधिमा भएका गतिविधिका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
त्यसैगरी नगरसभामा विद्यायन समितिका संयोजक अमर नेपाली (माइकल), सुशासन समितिका संयोजक सूर्यबहादुर डाँगी (श्याम) वातावरण तथा विपतद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, सामाजिक विकास समितिका संयोजक कुमार लामिछाने, आर्थिक समितिका संयोजक माधव ओली, लेखा समितिका संयोजक राजु आचार्यले प्रस्तुत गरेको प्रतिवदेनमाथि पनि दफावार छलफल भएको थियो ।















प्रतिक्रिया