७ कार्तिक २०८३, शनिबार

नवविवाहिता जोडीलाई लक्षित गरी ‘मेरी सङ्गीनी’ मोबाइल एप शुरू

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेपाल सीआरएस कम्पनीले विशेषगरी नवविवाहिता जोडीलाई लक्षित गर्दै परिवार योजनासम्बन्धी मोबाइल एप्लिकेशन ‘मेरी सङ्गीनी’ सार्वजनिक गरेको छ ।

अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे विस्तृत जानकारी दिने उद्देश्यले मेरी सङ्गीनी मोबाइल एप शुरू गरिएको कम्पनीले जनाएको छ । मेरी सङ्गीनीबाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरुसम्बन्धी तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरहरुको समेत जानकारी मेरी सङ्गीनीले दिने बताइएको छ ।

प्रजनन उमेरको जो कोहीलाई अति उपयोगी हुने यो एप विशेष गरी किशोर तथा किशोरी एवम् नवविवाहिता जोडीहरुलाई अत्यन्त उपयोगी हुने नेपाल सीआरएस कम्पनीले जनाएको छ । एपमा भएको ‘प्रायः सोधिने प्रश्नहरु’ खण्डले परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयोगकर्ताहरुलाई अझ विस्तृत जानकारी दिनाका साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसुचित छनौट गर्न मदत गर्ने समेत कम्पनीले बताएको छ ।

साथै एपमा आफू नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र सङ्गीनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफू नजिकैको तालिम प्राप्त र दक्ष सेवा केन्द्रबाट आफूलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मद्दत गर्ने छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुँच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र मेरी सङ्गीनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्वनिरोधक साधनबारे सुसूचित छनौट गर्न सहयोग पुर्याउने बताए ।

साथै, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले यो एपले परिवार योजना र यससम्बन्धी विषयमा विस्तृत जानकारी सजिलोसँग हासिल गर्न मद्दत हुने कुरा व्यक्त गर्नु भएको छ ।

नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भूमिका रहेको र प्रयोगकर्तामाझ सहि र अद्यावधिक सूचनाको पहुँच बढाउनमा सञ्चार प्रविधिको ठूलो महत्व रहेको बताएका छन् ।

मेरी सङ्गीनी एप, यूएसएआईडीको आर्थिक एवम् सप्स प्लसको प्राविधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा नेपाल सीआरएस कम्पनीद्वारा निर्माण गरिएको हो ।