
बुटवल, ३० जेठ । लुम्बिनी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
आज प्रदेशसभा बैठकले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । योसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ ।
प्रदेश सरकारमा सहभागी सत्तारुढ एमालेका ३८ र जसपाका ४ सांसदले समर्थन गरेकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।
गत मंगलबार लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको थियो । गत वैशाख १९ गते मुख्यमन्त्रीको पुनर्नियुक्ती र त्यसपछि जवरजस्ती सपथ खुवाएको भन्दै विपक्षी गठबन्धनका सांसदहरुले गरेको बैठक बहिष्कारकै बीचमा प्रदेशप्रमुख यादवले नीति तथा कार्यक्रम सार्वजानिक गरेका थिए ।
कार्यक्रमलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले नीति तथा कार्यक्रम बहिस्कार गरेका थिए ।
प्रदेश सरकारले लुम्बिनी प्रदेशमा आगामी आर्थिक बर्षमा १०१ वटा सडक–पुल निर्माण गर्ने, प्रदेश यातायात गुरुयोजना सम्पन्न गर्ने, आमाबुबा नभएका तथा अति विपन्न बालबालिकालाई आवासीय शिक्षा, एक स्थानीय तह, एक खेलकुद संरचना, प्रदेशका विभिन्न जिल्लाहरुलाई परम्परागत उत्पादनका आधारमा पकेट जोन बनाउने लगायत कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गरेको छ ।















प्रतिक्रिया