
काठमाडौं, २९ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण ८५ हजारभन्दा तल झरेको छ ।
भारतमा क्रमस सङ्क्रमण घट्दो क्रममा रहेको छ । कोरोनाको दोस्रो भेरियन्टले विश्वमै सबैभन्दा बढी आक्रान्त बनेको मुलुक भारतमा संक्रमण घट्नु नेपालको लागि पनि सुखद समाचार मानिदै आएको छ ।
यसअघि दैनिक ४ लाखभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि हुने गरेको थियो । हालसम्म विश्वका कुनै पनि मुलुकमा एक दिनमा ४ लाख सङ्क्रमित भेटिएका छैनन् । तर त्यो सङ्ख्या क्रमशः घट्दै अहिले ८५ हजारभन्दा कम भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ६९५ जना नयाँ बिरामी थपिएका छन् । तर नयाँ थपिएको सङ्क्रमित सङ्ख्या अन्य मुलुकको भन्दा उच्च हो । भारतमा हालसम्म २ करोड ९३ लाख ५८ हजार ३३ जनामा कोरोना पुष्टि भइसकेको छ ।
सङ्क्रमितमध्ये दुई करोड ७९ लाख १ हजार ६८८ जना उपचारपछि निको हुँदै कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । १० लाख ८९ हजार २४८ जनाको उपचार भइरहेकोमा ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
महामारीको रूप लिएको सङ्क्रमण क्रमशः नियन्त्रण हुँदै गर्दा भारतमा दैनिक मृत्यु भने घट्न सकिरहेको छैन । पछिल्लो २४ घण्टाभित्र ४ हजार जनाको मृत्यु कोरोनाका कारण भएको छ । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि विश्वका अन्य मुलुकको भन्दा अत्याधिक धेरै हो ।
भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ६७ हजार ९७ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया