काठमाडौं, २३ चैत । सत्तारुढ दलले अगाडी बढाएको प्रक्रिया खारेजीको माग गर्दै आइरहेको एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले ३ महिनापछि संविधानसभा भवनमा सहभागिता जनाएको छ ।
नेकपा एमालेका लोकप्रिय युवा नेता रामनाथ ढकालप्रति शोक व्यक्त गर्न माओवादी मोर्चा संविधानसभा गएको हो । संविधानसभामा सर्वसम्मतले नेता ढकालप्रति शोक प्रस्ताव पारित भएको थियो ।
संविधानका अन्तर्वस्तुमा सहमतिका लागि आन्दोलनका तर्फबाट दबाब सिर्जना गर्ने उद्देश्यका साथ संविधानसभाको बैठकमा सामेल नहुने अभिव्यक्ति दिँदै आएको मोर्चा आजको बैठकमा सहभागी भएको हो ।
एमाओवादी संसदीय दलका सचेतक गिरिराजमणि पोखरेलले एमाओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाको यही चैत १५ गतेको बैठकले आजबाट प्रारम्भ हुने संविधानसभाको बैठकमा सहभागी नहुने जनाए पनि बैठकको कार्यसूचीलाई दृष्टिगत गरी सहभागी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो-‘मोर्चाद्धारा घोषणा गरिएका आन्दोलनका कार्यक्रम जारी रहेका छन् ।’ गत माघ २९ गते संविधानका अन्तर्वस्तुमा सहमति कायम होस् भनेर स्थगन गरिएको बैठक करिब दुई महिनापछि आजबाट प्रारम्भ भएको हो ।
यस बीचमा दलहरूको बैठक पटक–पटक भए पनि औपचारिक रुपमा परिणाम हासिल गर्ने किसिमबाट फलदायी हुन सकेनन् ।
फलस्वरुप विवादित विषयमा सहमति जुट्न नसक्दा शासकीय स्वरुप, सङ्घीयता, न्यायप्रणाली र निर्वाचन प्रणालीबारे मतैक्यता हुन सकेको छैन् । संविधानसभाको अर्को बैठक यही चैत ३० गते शनिबार ३ बजे बस्नेछ ।












प्रतिक्रिया