२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय क्रिकेट टीमलाई नेपाल टेलिकमको साथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_National_Cricket_teamकाठमाडौँ, २३ चैत । नेपाल टेलिकमले राष्ट्रिय सिनियर पुरुष र महिला टोली वार्षिक रु ८५ लाख बराबरको प्रायोजन गरेको छ ।

नेपाल टेलिकमद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्विप्रसाद आचार्य र नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यबहाक अध्यक्ष दीपक कोइरालाबीच तीन वर्षको लागि प्रत्येक वर्ष नवीकरण गरिने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षरपछि टेलिकमका प्रबन्ध निर्देशक आचार्यले क्रिकेट खेल आम मानिसको लोकप्रिय खेल भएकाले यस खेलको सफलताको लागि आफ्नो कम्पनीले प्रायोजन गरेको बताउनुभयो ।

उहाँले क्रिकेट राष्ट्रको पहिचान बोकेको खेल भएको हुँदा पनि यस खेलको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै क्यानका कार्यबहाक अध्यक्ष कोइरालाले यस किसिमको सम्झौताले नेपाली क्रिकेट खेलको मात्र नभई खेलाडीको समेत हित हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले टेलिकमको सम्झौताले क्यानको आर्थिक समृद्विको लागि कोसेढुङ्गाको रुपमा काम गर्ने भनाइ व्यक्त गर्नुभयो ।

सम्झौता अनुसार क्यानले सिनियर राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रायोजन गरेको रकमको करिब २५ प्रतिशत भक्ताको रुपमा खेलाडीलाई दिनुपर्ने, अरु कुनैपनि सङ्घ संस्थाले प्रायोजन गर्न नपाउने, टेलिकमको प्रायोजनमा क्यानले ट्वेन्टी–ट्वेन्टीको ढाँचामा क्रिकेट टुर्नामेन्ट सञ्चालन गर्नुपर्ने जसको नाम नेपाल टेलिकम च्याम्पियनसिप ट्रफी राखिनुपर्नेलगायतको विषयमा सम्झौता भएको छ ।

टेलिकमले क्यानलाई प्रतिवर्ष क्रिकेट प्रतियोगिता सञ्चालनको लागि रु ७० लाख उपलब्ध गराउने टेलिकमका व्यापार व्यवस्थापन विभागका नायब प्रबन्ध निर्देशक सुवासचन्द्र शाहले बताउनुभयो । रासस