काठमाडौं, २६ जेठ । उपत्यकाभित्र सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नौ वटा बिक्री केन्द्र छन् । यी केन्द्रमा हिजोआज बिहानैदेखि सयौं सर्वसाधारणको लाइन हुन्छ । बजेटमार्फत सरकारले खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।
हरेक दिन लाइन लाग्नेमध्ये सबैले छुट सुविधा पाउने ग्यारेन्टी भने हुँदैन । यसको कारण हो, जिल्ला प्रशासनको भीड व्यवस्थापनको उर्दी ।
धेरै भीड हुन थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिक्री केन्द्र बिहान ७ देखि ९ बजेसम्म सञ्चालन गर्न आदेश गरेको छ । २ घण्टामात्रै खुला रहँदा सहुलियतमा खाद्यान्न र ग्यास किन्न आएकाहरू धेरै जना रित्तै हात फर्कनुपरेको बिक्री केन्द्रका अधिकारीहरू बताउँछन् । सरकारले निषेधाज्ञा अवधिका लागि घोषणा गरेको छुटले सर्वसाधारणलाई सुविधाको सट्टा सास्ती दिएको छ । उपत्यकामा करिब ३० लाखको बसोबास छ । मूल्यमा छुट पाइने सुनेकाहरू निषेधाज्ञामा पैदलै पनि बिक्री केन्द्रमा बिहानै पुगिरहेका छन् । छुट दिने भनिएका वस्तु सीमित क्षेत्रबाट छोटो अवधि मात्रै बिक्री खुला हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
‘आपत्विपत्का बेला छुट दिनु राम्रो थियो तर यो सुविधा बिक्री केन्द्र वरिपरिका, सवारीसाधन चलाउन पाउने र हुनेखाने वर्गका लागि मात्रै उपयोग गर्न पाए,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘एकातर्फ भीड नगर्न भन्ने, अर्कोतर्फ छुटको खाद्यान्न किन्न २ घण्टा मात्रै तोकेर सरकारले आफैं भीड बढाउने काम गर्यो ।’
हाल खाद्य व्यवस्थाले थापाथली, रामशाहपथ, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट छुट दिएको छ । साल्ट ट्रेडिङले कालीमाटी, कोटेश्वर, जावलाखेल, सतुंगल र भक्तपुरका बिक्री कक्षबाट सहुलियतमा खाद्यान्न बिक्री गरिरहेको छ । तर यी बिक्री केन्द्रबाट थोरै परिमाणका खाद्यवस्तु खरिद गर्दा मात्र २० प्रतिशत छुट छ । खाद्य कम्पनीले चामल र सिमीमा मात्रै २० प्रतिशत छुट दिएको छ । छुट मूल्यमा खाद्यान्न पाउन सर्वसाधारणले नागरिकताको फोटोकपी लिएर जानुपर्छ । चामल अधिकतम ३० किलो र सिमी २ किलो मात्रै किन्न पाइन्छ ।
साल्ट ट्रेडिङले पनि नागरिकताको फोटोकपीसहित उपस्थित भए २/२ किलो नुन, चिनी, पिठो र एक लिटर भटमासको तेलमा छुट दिइरहेको छ । छुटका सामान किन्न आउने सबैले चिनी अनिवार्य नै खरिद गरिरहेका छन् । खुद्रा बजारमा ९० देखि ९५ रुपैयाँ पर्ने चिनी साल्ट ट्रेडिङले प्रतिकिलो ६३ रुपैयाँमा दिन्छ । तर यो सुविधा धेरैले पाएका छैनन् । मंगलबार कालीमाटी बिक्री केन्द्रबाट १ सय ५६ जनाले मात्रै खाद्यान्न खरिद गर्न पाए । यसअघि शुक्रबार १ सय ८७, आइतबार ४ सय ८ र सोमबार ४ सय १३ जनाले खरिद गर्न पाएका थिए ।
सरकारले खाना पकाउने एलपी ग्यासमा २० प्रतिशत छुट घोषणा गरे पनि सर्वसाधारणले एसटीसी ब्रान्डबाहेक अरूमा पाएका छैनन् । साल्ट ट्रेडिङको यो ग्यासका प्रयोगकर्तामात्रै नभई सिलिन्डरसमेत थोरै छन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार मुलुकभर करिब १ करोड ५० लाख सिलिन्डर ग्यास उपलब्ध छ ।
यसमा एसटीसी ग्यासको हिस्सा करिब १ देखि १.३ प्रतिशत मात्रै हो । एसटीसी ब्रान्डले उपत्यकामा मात्रै ग्यास बिक्री गरिरहेको छ । एसटीसी ब्रान्डमा मात्रै छुट हुँदा ९९ प्रतिशत सर्वसाधारण बेवास्तामा परेको भण्डारी बताउँछन् । कान्तिपुर दैनिकमा राजु चौधरीले समाचार लेखेका छन् ।















प्रतिक्रिया