बागलुङ, २३ चैत । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधान निर्माणका लागि सुरु भएको प्रक्रिया नरोकिने बताउनुभएको छ । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता बडूले प्रक्रियासँगै वार्ता र संवाद पनि जारी राखिने उल्लेख गर्नुभयो ।
उहाँले परिणामविहीन वार्ताका लागि धेरै समय पर्खिन नसकिने भन्दै सहमति नजुटे दुई तिहाइ बहुमतबाट संविधान जारी हुने जिकिर गर्नुभयो । आपसी सहमति, सम्झौता र एकताबाटै संविधान ल्याउनुपर्छ” उहाँले भन्नुभयो, “तर, सहमति हुनै नसक्ने अवस्थामा अधिकतम बहुमत जुटाएर संविधान जारी गर्नुको विकल्प छैन ।”
प्रवक्ता बडूले सहमतिमा संविधान ल्याउन पनि प्रक्रिया आवश्यक रहेको बताउनुभयो । संविधानसभाभित्र धेरै कुरामा सहमति बनिसकेको उल्लेख गर्दै उहाँले सङ्घीयताको विषयमा मात्र केही विवादहरु बाँकी रहेको उल्लेख गर्नुभयो ।
सत्तापक्षीय दल लचक भएर सहमतिका लागि प्रस्तुत भए पनि विपक्षी दलले आफ्नो ढिपी नछोडेको प्रवक्ता बडूको तर्क छ ।














प्रतिक्रिया