१ कार्तिक २०८३, शनिबार

घरघरै ज्वरोका बिरामी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । तीन दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र शरीर दुख्ने समस्याबाट थलिएपछि कालीकोटको खाडाचक्र–४ ताडीका ३६ वर्षीय युवाले बुधबार आधारभूत स्वास्थ्य इकाइमा स्वास्थ्य परीक्षण गराए । एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई होम आइसोलेसनमा पठाइयो । अहिले आफन्त र छरछिमेकी उनको घरमा आउनै डराउन थालेका छन् ।

परिवारका अन्य तीन सदस्यलाई उस्तै लक्षण देखिए पनि समाजको डरले कोरोना परीक्षण गराएका छैनन् । ‘अस्पताल गयो, स्वास्थ्यकर्मीले कोरोना छ भनेर घर पठाइदिन्छन्,’ उनले भने, ‘कोरोना लागेपछि गाउँमा सबैको हेलाको पात्र बन्नुपरेको छ ।’

खाडाचक्र–४ स्थित दलित टोलमा घरघरै ज्वरोका बिरामी छन् । कोरोना देखिए हेला हुने भन्दै उनीहरूले पनि परीक्षण गराउन मानेका छैनन् । स्थानीय स्वास्थ्यकर्मी बुद्धिप्रसाद आचार्यले गाल्लीखोला, गाब, चिउरेला, मोटेलीवाडा, घटालीगाउँ र दमाइवाडालगायत टोलमा अधिकांश घरमा बालबालिकादेखि वृद्धसम्म ज्वरोले थलिएको बताए । ‘बिरामीलाई सबैले सामान्य रुघाखोकीका रूपमा लिएका छन्,’ उनले भने, ‘एन्टिजेन किट लिएर गाउँमा गए पनि कसैले परीक्षण गराउन मानेनन् ।’ उनका अनुसार खाडाचक्र नगरपालिकाले आधारभूत स्वास्थ्य इकाइमा करिब ५० थान एन्टिजेन किट पठाएको छ । ज्वरो र रुघाखोकी लागेका बिरामी इकाइमा समेत उपचारका लागि नआउने गरेको उनले बताए । अधिकांश बिरामीले घरेलु उपचार गराइरहेको उनको भनाइ छ ।

गाउँमा ज्वरोका बिरामी बढेपछि धामीझाँक्रीको व्यस्तता बढेको स्थानीय नवराज विकले बताए । ‘अधिकांश गाउँमा अस्पतालभन्दा धामीप्रति बढी विश्वास छ,’ उनले भने, ‘आजभोलि प्रत्येक दिनजसो कसैको न कसैको घरमा धामी बसिरहेका हुन्छन् ।’ गत बुधबार ताडीबाट आएका ६ बिरामीको एन्टिजेन किटबाट कोरोना परीक्षण गर्दा सबै संक्रमित देखिएको स्वास्थ्यकर्मी आचार्यले बताए । उनका अनुसार शिक्षा र चेतनाको अभावमा अधिकांश बासिन्दा धामीझाँक्री र घरेलु उपचारको भरमा छन् । तीन वर्षअघि ताडीमा फैलिएको रुघाखोकी र ज्वरोले चार जनाको मृत्यु भएको थियो भने झन्डै चार सय जना बिरामी परेका थिए ।

घरघरमा ज्वरो आएर सुतेका बिरामीलाई अस्पताल जाऊ भन्दा पनि अटेर गरेर घरमै बस्ने गरेको दलित अगुवा बाले विश्वकर्माले बताए । ‘बिरामी नभएको घरै छैन, ६/७ दिन ज्वरोले थलिएर सुत्छन्, फेरि उठेर काममा जान्छन्,’ उनले भने, ‘सिकिस्त भएपछि मात्र अस्पताल जाने सबैमा कोरोना पुष्टि हुने गरेको छ ।’

खाडाचक्र–४ मा वैशाखयता स्वास्थ्य परीक्षण गरेका ताडीका ४६ जनामै कोरोना पुष्टि भएको खाडाचक्र नगर स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताए । उनका अनुसार गाउँमा अझै २६ जना सक्रिय संक्रमित छन् । ती सबैको होम आइसोलेसनमा उपचार भइरहेको उनले जानकारी दिए । शाखाका अनुसार खाडाचक्रमा सबैभन्दा बढी २ नम्बर वडामा कोरोना संक्रमण फैलिएको छ । उक्त वडामा ७१ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभरि ७ सय जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा खाडाचक्रमा मात्र ३ सय ५१ जना संक्रमित भएको उनले बताए ।

गाउँमा विवाह, व्रतबन्ध, पूजाआजालगायत जमघटले पनि कोरोना संक्रमण फैलाएको राप्रपा नेता लालबहादुर मल्लले बताए । ‘सामाजिक संस्कार नगर भन्न पनि नसकिने,’ उनले भने, ‘गर्न दिए कसैले मापदण्ड पालना गर्दैनन् ।’

संक्रमण भएर गाउँमा बसेकालाई सबैले अपराध गरेजस्तो गरेर व्यवहार गर्ने संक्रमणमुक्त भएका सामाजिक अभियन्ता सदानन्द तिमिल्सेनाले बताए । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न कठिन भएपछि नरहरिनाथ–६ माल्कोटकी ४० वर्षीया भरु विश्वकर्मालाई उपचार गर्न उनका पति गन्जेले एक साताअघि आठ घण्टा पिठ्युँमा बोकेर सदरमुकाम मान्म पुर्‍याए । उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो तर उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ अझै हुन सकेको छैन ।

अहिले संक्रमितलाई अक्सिजन दिएर उपचार गरिरहेको जिल्ला अस्पतालका डा. राजकमल कार्कीले बताए । ‘को कहाँबाट आयो भन्ने कसरी थाहा पाउनु ?’ उनले भने, ‘अहिले लक्षण देखिएका र शंकास्पद बिरामीको मात्र स्वास्थ्य परीक्षण भइरहेको छ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ ।