
विराटनगर, २१ जेठ । प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद बिन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको कार दुर्घटनामा पर्दा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
दुईजना अपरिचित युवतीलाई आफ्नी आमाको कारमा राखेर घुम्न हिँडेका रविनले बिहीबार साँझ उक्त दुर्घटना गराएका हुन् । विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–०२२ च २१३९ नम्बरको कार दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
दुर्घटनामा भारत कटियार घर भएका ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको छ भने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका छन् । घाइते राजवंशीको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनामा परेर मृत्यु र घाइते हुने दुवै पुरुष विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुर्घटना गराउने कार प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रयोग गर्दै आएको खुलेको छ । उनले छोरा रविनलाई चलाउनका लागि दिएका बेला कार दुर्घटनामा परेको पाइएको छ ।
दुर्घटनालगत्तै कारबाट चालक रविनसहित अन्य दुई जना युवती पनि निस्किएर भागेको स्थानीयले बताएका छन् । यद्यपि ती युवतीकाहरूको भने प्रहरीले पहिचान गर्न सकेको छैन । घटनालगत्तै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गर्नतिर लाग्दा चालक रविन फरार भएको बताएको छ ।
प्रहरीका अनुसार बिन्दियाका छोरा रविनसँग सवारी चालक अनुमतिपत्र समेत नभएको पाइएको छ । दुर्घटनापछि रविन राति विराटनगरकै विराट नर्सिङ होम पुगेका थिए । मदिराको नसामा लट्ठ रहेको अवस्थामा रविन आएको र त्यसपछि कता गए भन्ने थाहा नभएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनले त्यहाँ आफ्नो सामान्य उपचार गराएको खुलेको छ ।
‘रविन अस्पताल छिरेको केही समयपछि उनकी आमा बिन्दिया पनि अस्पताल आएकी थिइन्,’ अस्पताल स्रोतले भन्यो, ‘लाइसेन्सबिनै सवारी चलाएर दुर्घटना गराएका छोरालाई उनैले भगाएकी हुन् ।’
उनको कार आफ्नो छोराले नभइ अरु कसैले नै चलाएको बिन्दियाको दाबी छ । आफूले उक्त कार कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा जुटेको एक समूहलाई दिएको बताएकी छिन् । राम नेपालको नेतृत्वमा केही युवाहरु मिलेर संक्रमितको शव व्यवस्थापन गर्ने अभियान विराटनगरमा चलाइएको छ । रविन पनि सोही समूहमा आवद्ध रहेको बिन्दियाको भनाइ छ ।
तर, बिहीबार बिन्दियाका छोरा रविन शव व्यवस्थापनबाट चाँडै निस्किएर विराटनगरको मुनालपथस्थित एक होटेलमा मदिरा सेवन गरेपछि उनी दुई युवतीलाई कारमा राखेर उत्तरतर्फ लागेको जानकारी प्रहरीले प्राप्त गरेको बताएको छ । आफ्नो छोरासँग लाइसेन्स नभएको बिन्दियाले नै स्वीकार गरिसकेकी छिन् ।















प्रतिक्रिया