
काठमाडौं, २० जेठ । १३ वर्षकी दुई जना बालिकामाथि बलात्कार तथा यौन दुर्व्यवहार भएको छ ।
प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार बर्दियामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा मधुवन नगरपालिका–९ बेलटाँडी गाउँ बस्ने ५७ वर्षीय कर्णबहादुर कामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कामीले ती बालिकालाई उनकै घरमा बलात्कार गरेको प्ररहीले बताएको छ । घटनालगत्तै प्रहरी चौकी ताराताल र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै भक्तपुरमा पनि एक १३ वर्षकै बालिकामाथि यौन दुर्व्यवहार भएको प्रहरीले जनाएको छ । दुर्व्यवहारको अभियोगमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ गणेश मन्दिर बस्ने ४९ वर्षीय चुलाई मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मुखियाले ती बालिकालाई २०७७ पुस ११ गते भक्तपुर नगरपालिका–१ सल्लाघारीमा यौन दुर्व्यवहार गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया