
– विजय थापा
वाशिंगटन, डिसी । नेपालका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पशुपति शर्मा, प्रमोद खरेल तथा संगिता थापा मगरले डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित २०७२ नयाँ बर्ष धमाकामा बेजोड प्रस्तुति गरे ।
उक्त मनोरञ्जन साँझमा नेपाली पन झल्कने विविध साँस्कृतिक प्रस्तुतीबाट धेरै लामो समय देखि डिसी महानगर क्षेत्रमा प्रतिक्षा रत रहेका नेपाली समुदायले भरपुर मनोरञ्जन लिए ।
पशुपति शर्मा तथा संगिता थापा मगरको प्रत्यक्ष लोक दोहोरी, सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’को प्रहसन तथा प्रमोद खरेलको गीत, गजल तथा हास्य व्यंग्यको बेजोड प्रस्तुतिले कार्यक्रम स्थल कर्तल ध्वनिले गुञ्जयमान हुन पुगेको थियो ।
दर्शकले मन थाम्न नसकी मञ्च भरि कलाकारलाई साथ दिदै झुमेका थिए भने बिशेष धुर्मुस र सुन्तलीको प्रस्तुतिले दर्शकहरु पेट मिचीमिची (च्यापु दुख्ने) गरि हासेका थिए ।
अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदायबीच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ को अमेरिकामा पहिलो प्रस्तुति भर्जिनियामा अपार सफलताको साथ सम्पन्न भएको छ ।
कार्यक्रम स्थलको कुल सिट ५ सय २० रहेकोमा करिब ४ सय ५० भन्दा ज्यादा टिकट बिक्रि भएको जानकारी शुभकामना साँझका संयोजक तथा साहित्यकार बसन्त श्रेष्ठले बताए ।
श्रेष्ठले कलाकारहरु राष्ट्रका सम्पत्ति हुन् र उनीहरुलाई हामी सबैले सम्मान गर्नु पर्छ भन्ने मन्तब्य राखेका थिए । कार्यक्रम नेपाल तथा अमेरिकाको राष्ट्रिय गीत बाट शुरुवात भएको थियो भने स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति देखाएका थिए ।
प्रसिद्ध लोक गायिका संगिता थापा मगरले मेरो कालेको आँखै प्यारो छ तथा लाहुरे दाइले झुक्याए मलाई जस्ता गीत गाउदा दर्शक मञ्च तथा कार्यक्रम स्थल पछिल्लो भागमा नाच्दै उनलाई साथ दिएका थिए ।
सिताराम कट्टेल ‘धुर्मुस’को केपी शर्मा ओली बनेको एकल प्रहसनमा परदेशमा नेपालीहरुको चित्रण, नेपालमा संबिधान बन्ने तथा अन्य समसामयिक बिषयमा गरेको प्रस्तुतिमा दर्शकले ताली ठोकेका थिए ।
नेपालका अर्का उदियमान गायक प्रमोद खरेलले म मरे पनि मेरो देश मलाई प्यारो छ भन्दै गीत गाउन सुरु गरेका थिए ।
म मेरो देशको गीत गाउँछु र सुनाउने गीत गाउँछु भन्दै याद गर्न ….कोहि चाहिदो रहेछ, मलाई जसले पनि किन रुवाउछ …म विना कसै कसैलाई मुश्किल छ पोखरामा म छु आज धेरै टाढा गीतको साथै उनले हास्य व्यंग स्वरुप बिभिन्न गायकहरुको नक्कल प्रस्तुतिले अझ माहौल तताएका थिए भने उनि संगै दर्शक नाचेका थिए ।
यसै गरि युवा लोक गायक पशुपति शर्माको काम पाईएन डिग्री पास गरेँ र भैसी पालेँ गाउँतिर झरेर, मलाई अमेरिका यहीं, मलाई जापान पनि यहीं, तथा अन्य गीत गाउदा मञ्च खचाखच भरिन पुगिएको थियो भने बृद्ध, बालबच्चा, युवा युवती झुम्न बाध्य भएका थिए ।
बिशेष गरि सिताराम कट्टेल ‘धुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तलीको ‘फतौरी’ प्रहसनमा अब नेपालमा मलामी जाने मानिस छैनन् बा । बिबाहमा मानिस जुटाउन गार्हो छ बा । आफ्ना बूढा बा–आमालाई औषधि र तातो पानी खुवाउने सन्तान छैनन् बा । नेपाल रित्तिदै छ भन्दा दर्शकले ताली बजाउनुको साथै भाबुक पनि बनेका थिए ।
अब नेपालमा महिला प्रधानमन्त्री हुनुपर्छ, सबै सभासद महिला हुनुपर्छ र नेपालको नेतृत्व अब महिलाले गर्नुपर्छ भन्दा बिशेष महिलाहरुले थप्पडी र सिट्ठी बजाएका थिए ।
कार्यक्रममा कलाकारहरुलाई सम्मान गर्दै पुरस्कार वितरण गरिएको थियो भने उनीहरुको प्रस्तुतिमा कुनै तस्बिर तथा श्रब्य दृश्य खिच्न दिइएको थिएन् । कार्यक्रम समाप्तपछि कलाकारहरुसंग सामुहिक छायाचित्र खिच्न फुकुवा गरिएको थियो ।
२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले नेपाल फर्केपछि संचित रकमबाट नेपालस्थित अनाथालयहरुको सहयोग गरिने जानकारी दिए ।















प्रतिक्रिया