
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शासन अवधिको बाँडफाँट लोकतन्त्रका लागि हानीकारक भएको बताएका छन् ।
आज शनिबार १४औं गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ओलीले लोकतन्त्र जनताको जीवनमा बाँच्नुपर्ने प्रणाली भएकाले साशनसत्ताको बाँडफाँटले जनताको अधिकार कुण्ठित गर्ने तथा लोकतन्त्रलाई नै हानी पुर्याउने बताएका हुन् ।
‘लोकतन्त्र जनताको जीवनमा बाँच्नुपर्ने प्रणाली हो । जनताको जीवनबाट यसलाई अलग गरेर केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि उनीहरुलाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँड तथा उपभोगका रुपमा अर्थ्याउने विसङ्गत परिभाषा यसका लागि हानीकारक छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ‘यो जनताको सार्वभौम अधिकार हो, जसलाई जनताले निर्वाचन मार्फत अभ्यास गर्दछन् ।’
जनताबाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पुर्याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न नसक्ने भन्दै ओलीले भने, ‘जनताबाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पुर्याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न सक्दैन । हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन, गरिबी र पछौटेपन विरूद्धको लडाईँ जित्नुपर्ने छ ।’
जनता मजबुत हुँदा स्वतः लोकतन्त्र मजबुत हुने ओलीको भनाइ छ । राजनीतिक झगडा वा लडाईंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन आग्रह गर्दै ओलीले अबको राजनीतिक निकास निर्वाचन भएकोमा जोड दिएका छन् ।















प्रतिक्रिया