७ कार्तिक २०८३, शनिबार

महामारीले गम्भीर धक्का पुर्‍याए पनि नेपालको आर्थिक वृद्धिलाई सम्हालेका छौं : प्रधानमन्त्री

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको विद्यमान महामारीको बीचमा पनि सरकारले नेपालको आर्थिक विकास र वृद्धिलाई सम्हाल्न सफल रहेको बताएका छन् ।

हिजो शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीले आर्थिक विकासमा गम्भीर धक्का पुर्‍याए पनि सरकारले यसलाई सम्हालेको र समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको बताएका हुन् ।

‘नेपाल अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस भएको छ । कोभिड महामारी सुरु हुनु अगाडि हाम्रो आर्थिक वृद्धि आशालाग्दो थियो । महामारीले गम्भीर धक्का पुर्याए पनि हामीले यसलाई सम्हालेका छौं र समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘पहिलो पल्ट निर्यात व्यापारले एक खर्बको लक्ष्य नाघेको छ, व्यापार घाटा घट्दो छ । देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै छ ।’

आफूले सरकार सञ्चालनको तीन वर्षे अवधिमा नेपालीको औसत प्रतिव्यक्ति आय २५ प्रतिशतले वृद्धि भएको प्रधानमन्त्री ओलीको दाबी छ । यस्तै मानव विकास सूचकाङ्कमा ५ प्रतिशत बिन्दुको सुधार भएको छ भने कोभिड–१९ को महामारीका बीच पनि निरपेक्ष गरिबी उल्लेख्य वृद्धि हुन नपाएको उनको भनाइ छ ।

‘यस अवधिमा ३३३ मेगावाट विद्युत् उत्पादन थप भएको छ भने यसै आर्थिक वर्षभित्र थप ५०० मेगावाट विद्युत् थप हुँदैछ । लोडसेडिङको अन्त्य, पर्याप्त विद्युत् आपूर्ति र अतिरिक्त विद्युत्को बाह्य व्यापार शुरू भएको छ । बाह्य लगानी बढिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

‘रणनीतिक पूर्वाधारहरूको क्षेत्रमा इतिहासमै धेरै उपलब्धि हासिल भएका छन् । सडक, मोटर र झोलुङ्गे पुल, तुइन विस्थापन लगायत क्षेत्रमा भइरहेका प्रगतिबारे यसअघि नै प्रस्तुत तथ्याङ्क म दोहोर्याउन चाहन्नँ,’ ओलीले भनेका छन्, ‘कुल रणनीतिक सडकमध्ये १७.१ प्रतिशत सडक विगत तीन वर्षमा मात्र निर्माण भएका छन् । तीन वर्षमा सम्पन्न गर्ने गरी १६५ वटै निर्वाचन क्षेत्रमा एक–एक वटा रणनीतिक सडक र स्थानीय तहहरूलाई एक आपसमा जोड्ने र सबै स्थानीय तहका केन्द्रदेखि प्रदेश राजधानी जोड्ने सडकको निर्माण शुरू भएको छ । सबै पालिका र क्षेत्रहरूमा यिनको दूरगामी सकारात्मक प्रभाव पर्नेछ ।’