१ कार्तिक २०८३, शनिबार

अर्थतन्त्रका अन्य सूचक सकारात्मक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । चालू वर्षमा आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहे पनि संशोधित लक्ष्य भेटाउन चुनौतीपूर्ण देखिएको छ । अर्थमन्त्री विष्णुु पौडेलले शुक्रबार जारी गरेकोे आर्थिक सर्वेक्षण २०७७-७८ अनुसार कोभिड दोस्रो लहरका कारण अर्थतन्त्रमा प्रभाव पर्दा संशोधित आर्थिक वृद्धिसमेत हासिल हुन सक्ने अवस्था देखिएन ।

अर्थमन्त्री पौडेलले महामारीबाट उत्पन्न आर्थिक संकटका बाबजुत नेपालको मुद्रास्फीति सञ्चिति सीमाभित्र रहेको, शोधानान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सबल र जुन निर्माण प्रगति र मानव विकास क्षेत्र विस्तारका कारण आगामी दिन आर्थिक स्थिति सबल हुँदै अर्थतन्त्रमा ‘भी’ आकारको आर्थिक वृद्धि हुने अनुमान रहेको उल्लेख गरे ।

सरकारले चालू वर्ष २०७७-७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेको थियो । गत वर्ष जारी बजेटमा आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत प्रक्षेपण गरिएको थियो ।

आव २०७६-७७ मा नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक रहेको अवस्थामा सरकारले महत्वाकांक्षी रूपमा आर्थिक वृद्धि हुने जिकिर गरे पनि संशोधित लक्ष्यसमेत भेटाउन मुस्किल छ ।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू खाता घाटा पहिलेभन्दा केही संकुचित भए पनि त्यो नियन्त्रित सीमाभित्रै रहेकाले ‘रिभाइबल’ कार्यक्रम सञ्चालन गर्न असर गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे ।

७ प्रतिशतको आर्थिक वृद्धिबाहेक अर्थतन्त्रका अन्य सूचकमा सबल रहेको उनले औंल्याए । शोधानान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, मुद्रास्फीति नियन्त्रित, आयात निर्यात अनुपात र वैशाखसम्मको अवस्थामा राजस्व संकलन स्थितिलगायत अर्थतन्त्रको समष्टिगत सूचक सकारात्मक रहेको उनले जनाए ।

अर्थमन्त्री पौडेलले ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न गाह्रो भएको जानकारी दिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा ‘७ प्रतिशतले नेपाली जनताको आर्थिक वृद्धिदर रहेको’ उल्लेख गरेका छन् । चालू आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २.६, ५.० र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

यसैगरी, चालू आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८, १३.१ र ६१.१ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७६-७७ मा कुल लगानी ३०.४ प्रतिशतले संकुचन भएकोमा आर्थिक वर्ष २०७७-७८ मा १८.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनसँग बचतको अनुपात ६.६ पुग्ने देखिन्छ ।

चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको अनुमान छ ।

चालू आर्थिक वर्ष फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ६.५ प्रतिशत थियो । आर्थिक वर्ष २०७६-७७ मा संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्च ११ खर्ब ९१ अर्ब ६ करोड रहेको छ । एकीकृत खर्चमध्ये चालू खर्च ५६.० प्रतिशत, पुँजीगत खर्च ३४.१ प्रतिशत र वित्तीय व्यवस्था ९.९ प्रतिशत छ । पूर्णभक्त दुवालले राजधानी दैनिकमा खबर लेखेका छन् ।