१ कार्तिक २०८३, शनिबार

विकल्पमा एस्ट्राजेनेका र जोन्सनको खोप

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिडसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अस्ट्राजेनेका खोप माग गर्ने तयारी थालिएको छ ।

खोप सल्लाहकार समितिले कोभ्याक्स कोभिडसिल्डको विकल्पमा उपयुक्त हुने जोनसन एन्ड जोनसन र अस्ट्राजेनेकाको खोप माग गर्ने भएको हो । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने बताएपछि कोभ्याक्सले नेपाललाई कोभिडसिल्डको विकल्प माग गरेको थियो ।

विकल्पमा कोभ्याक्समा आबद्ध एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सन खोप उपयुक्त हुने खोप विज्ञ बताउँछन् । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले खोप सल्लाहकार समितिको मंगलबार बसेको बैठकबाट ‘पहिलो विकल्पमा एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन उपयुक्त हुने’ निष्कर्ष निकालिएको जानकारी दिए ।

‘कोभ्याक्समा आबद्ध भ्याक्सिन कम भएकाले एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन खोप उपयुक्त हुने देखिन्छ,’ डा. पोखरेलले भने, ‘६५ वर्षमाथिका झन्डै १४ लाख ५० हजार ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउनुपर्नेछ । सम्भवतः यी दुई खोप कोभ्याक्समा सिफारिस हुन्छ ।’ जोनसोन नयाँ समूह र एस्ट्राजेनेकाको खोप पहिलो मात्रा लगाएकालाई दोस्रो डोजका रूपमा लगाउन मिल्ने उनले राजधानीसँग बताए ।

भारतबाट माग गरिएको कोभिडसिल्ड भ्याक्सिन आउने सम्भावना कम देखिएपछि औषधि व्यवस्था विभागले कोभिडसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभ्याक्स ङ्खयासिलिटीअन्तर्गत नेपालमा पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिडसिल्ड खोप आएको थियो ।

कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसैबीच, बिहीबार देशभर थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २० हजार ४ सय १४ जनाको पीसीआर र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ संक्रमित निको भएका छन् ।

केही दिनयता संक्रमणमुक्त संख्या बढ्दै गएको छ । देशभर हाल १ लाख १६ हजार ४ सय ७६ सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । देशभर १ हजार ९ जना क्वारेन्टाइनमा छन् । हाल २ हजार १ सय २ कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

जसअन्तर्गत १ हजार ६ सय ४५ आईसीयू र ४ सय ५७ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा २ सय १० आईसीयू र ५३ भेन्टिलेटर, प्रदेश २ मा १ सय ८८ आईसीयू र ४२ भेन्टिलेटरमा छन् ।

बाग्मती प्रदेशमा ८ सय ७ आईसीयू र २ सय ८७ जना भेन्टिलेटरमा उपचाररत छन् । गण्डकी प्रदेशमा १ सय ५६ आईसीयू र ३४ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ८४ जना आईसीयू र २० भेन्टिलेटर, कर्णालीमा ५५ आईसीयू र सात जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ४५ आईसीयू र १४ जना भेन्टिलेटरमा छन् । राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन् ।