काठमाडौं, १२ जेठ । केन्द्रीय अस्पतालका रूपमा रहेको हरिहर भवनस्थित पशुपति होमियोप्याथिक सुनसान प्रायः छ । आइतबार दिउँसो पुग्दा फाट्टफुट्ट बिरामी देखिन्थे । यतिबेला अन्य अस्पताल भीडभाड भइरहँदा यहाँ भने खासै धपेडी छैन ।
कोभिड–१९ बीच वीर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्सक २४सैं घण्टा व्यस्त छन् । तर, यो अस्पतालमा न बिरामी चाप छ, न त पर्याप्त चिकित्सक ।
सरकारले केन्द्रीय अस्पताललाई ‘कोभिड डेडिकेटेड’ सूचीकृत गरे पनि पशुपति होमियोप्याथिक अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नजरमा पर्न सकेको छैन ।
‘सक्दो लागिरहेका छौं तर सरकारको प्राथमिकतामा यो अस्पताल पर्न सकेको छैन,’ अस्पतालका सी अहेब बामदेव अर्याल स्वयं गुनासो गर्छन्, ‘सरकारले यो अस्पताललाई प्राथमिकतामा राख्नुपर्ने हो तर दरबन्दी निकै न्यून छ । हामी १७ कर्मचारी मात्रै छौं ।’
उपचार विधि फरक भए पनि होमियोप्याथिक पद्दतिबाट समेत कोरोना उपचार सफल र प्रभावकारी पाइएको विभिन्न अनुसन्धानले समेत देखाएका छन् ।
अस्पतालले ‘कोभिड डेडिकेटेड’ बनाउन आग्रह गरे पनि स्वास्थ्य मन्त्रालयले चासो नदिएको पाइएको छ । ५० शय्यासहितको कोभिड डेडिकेटेड बनाउने अस्पतालको योजना छ । मन्त्रालयले केही दिनअघि अनुगमन गरेको थियो । तर, कुनै जवाफ आएको छैन ।
अल नेपाल होमियोप्याथिक एसोसियसन महासचिव डा. रामहरि श्रेष्ठका अनुसार मन्त्रालयले अस्पताल व्यवस्थित गर्न कुनै योजना अघि सारेको छैन ।
‘अनुगमन गरेर मात्रै भएन, सरकार पूर्वाधार विस्तारका लागि पनि गम्भीर बन्नुप¥यो,’ उनले भने, ‘डेडिकेटेड अस्पताल बनाउन र बनिसकेपछि उपचार प्रक्रियादेखि सबैमा सहयोग गर्न एसोसियसन तयार छ ।’ आपतकालीन अवस्थामा अवस्थामा गम्भीर भएर ‘कोभिड डेडिकेटेड’ अस्पताल बनाउन लागि पर्नुपर्नेमा उनी जोड दिन्छन् ।
सरकारले अस्पतालको विकास, विस्तार र सुदृढ गर्ने भने पनि पशुपति होमियोप्याथिक अस्पताल एक चिकित्सकको भरमा चल्दै आएको छ । अस्पतालमा ६ शय्या छन् ।
कोभिड–१९ बीच दैनिक ६० बढी उपचारका लागि आउने गरेका छन् । अन्य समय २ सयदेखि ३ सय जनासम्म आउने गरेका छन् । पटकपटक परिवर्तन हुने स्वास्थ्य मन्त्रीले अस्पताल स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन नसकेको सरोकारवाला बताउँछन् ।
२०७६ सालमा अस्पताल ‘ओएनएम सर्भे’ गरेर पठाए पनि फाइल स्वास्थ्य मन्त्रालयमै थन्किएको छ । ५० शय्या सञ्चालन गर्न सकिने र यसका लागि १ सय १ दरबन्दी माग गर्दै पठाइएको थियो ।
हाल, चिकित्सालयमा एक स्थायी र करारअन्तर्गत दुई चिकित्सक, चार नर्स, दुई अहेब, लेखापाल, ६ कार्यालय सहयोगीलगायत १७ जना कार्यरत छन् ।
सरकारले चिकित्सालयलाई आफ्नै साधन स्रोतमा २५ शøयाको सैद्धान्तिक सहमति दिएको छ । अस्पताल प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार औषधिदेखि सबै प्रकृतिका रोग निःशुल्क उपचार हुँदै आएको छ । ‘त्यसो भएपछि पैसा कसरी जुटाउने ?’ उनको प्रश्न छ ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने केन्द्रीय अस्पताल विकास र स्तरोन्नतिमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच, देशभर मंगलबार ६ हजार ४ सय ४ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ४ लाख ४ हजार ८ सय ८७ भई निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टा अवधिमा थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला गरी २२ हजार ३ सय ६ जनाको आरटी–पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ । पीसीआर परीक्षण क्रममा ८ हजार ३ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ ।
मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ३६ मा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म ४ लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएका छन् । देशभर हाल १ लाख १७ हजार २ सय ६१ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ८ हजार ४ सय २८ होम आइसोलेसन र ८ हजार ८ सय ३३ संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ सय ६९ जनाको मृत्यु भएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन् ।















प्रतिक्रिया