
काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दिनेगरी जारी गरेको नागरिक बचतपत्रमा आजदेखि आवेदन खुला भएको छ ।
बैंकले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गरेको छ । ५ वर्षे अवधिको यस्तो बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइने छ । कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने निःशेष अंकमा लगानी गर्न सकिन्छ ।
यस्तो बचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर आवश्यक परेको खण्डमा ऋण पनि लिन पाइन्छ । आज (जेठ ११ गते)देखि आगामी असार १ गतेसम्म यसमा लगानीका लागि आवेदन दिन सकिन्छ । ५ वर्षपछि अर्थात् २०८३ असार ६ गते यसको लगानी अर्थात् साँवा रकम फिर्ता हुने छ ।
आवेदन फारम विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पाइन्छ । साथै राष्ट्र बैंकको वेबसाइटमा गई ‘पब्लिक डेप्ट’मा गई डाउनलोड गर्न पनि सकिन्छ । डाउनलोड गरेको सो फारम भरेर बैंक तथा वित्तीय संस्थाका शाखा वा राष्ट्र बैंकका प्रदेश कार्यालयमा बुझाउन सकिने बताइएको छ ।
बचत पत्र खरिदका लागि रकम बुझाएकै मितिबाट ब्याज रकम गणना हुने छ । स्टक वा प्रमिसरी नोटको रुपमा बचतपत्र स्वीकार हुने राष्ट्र बैंकले जनाएको छ ।















प्रतिक्रिया