काठमाडौं, ७ जेठ । राष्ट्रिय सभाअन्तर्गत बाग्मती प्रदेशतर्फ रिक्त एक सदस्य पदमा गठबन्धन उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभामा विजयी भएका हुन् ।
हेटौंडा भुटनदेवी माविमा बिहीबार सम्पन्न मतदानमा थापालाई १ हजार ७४ मतभारले पछि पार्दै देवकोटाले राष्ट्रिय सभा यात्रा तय गरेका छन् । एमाले नेपाल–खनाल समूहबाट कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपातर्फबाट उम्मेदवार देवकोटा ५ हजार ८८ मतभार ल्याउँदै विजयी भएका हुन् । एमालेको ओली समूहबाट उम्मेदवार थापा ४ हजार १४ मतमै चित्त बुझाउन बाध्य भए ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३२ मतभार ल्याए । ‘कलम’ चिह्न लिएर विजयी देवकोटाले पालिकातर्फ २ सय ३३ मत खसेकोमा १ सय २८ पाए । पालिकाका एक जनप्रतिनिधिबराबर १८ मतभार हुन्छ । जसअन्तर्गत पालिकाबाट देवकोटाले २ हजार ३ सय ४ मत पाए ।
यसैगरी, बाग्मती प्रदेशका १ सय ५ सांसदले मतदान गरेकोमा देवकोटाले ५८ मत पाए । प्रदेशमा एकबराबर ४८ मतभार हुने व्यवस्था छ । प्रदेशतर्फ देवकोटाले २ हजार ७ सय ८४ मत पाए ।
त्यस्तै, थापाले पालिकातर्फ १ सय ३ र प्रदेशतर्फ ४५ मत पाए । पालिकातर्फ उनले पाएको मतभार १ हजार ८ सय ५४ र प्रदेशमा २ दुई १ सय ६० हुन्छ ।
नेमकिपा उम्मेदवार तामाङले पालिकातर्फ २ र प्रदेशतर्फ पनि २ नै मत पाए । जसको मतभार १ सय ३२ हुन्छ ।
बिहीबार बिहान ९ देखि दिउसो ३ बजेसम्म भएको मतदानमा ९ मतदाता अनुपस्थित रहे । प्रदेशतर्फ १ सय १० मध्ये १ सय ५ मत खस्यो ।
मतदानमा सहभागी नहुनेमा माओवादीतर्फका प्रदेशसभा सदस्य हिमाली गोले, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, शोभा शाक्य र रमेश पौड्याल छन् । प्रदेश सांसद पशुपति चौलागाईंको केही दिन अघि मात्रै कोरोनाका कारण निधन भएको थियो ।
स्थानीय तहतर्फ कुल २ दुई ३८ मतदाता रहेकामा २ सय ३३ जनाले मतदान गरेका थिए । स्थानीय तहतर्फ दोलखा मलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी, विजु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिल पण्डितले मतदान गरेनन् ।
बाग्मती प्रदेश सदस्य १ सय ९ र प्रदेशतर्फ २ सय ३८ गरी कुल ३ सय ४७ मतदाता थिए । एमाले प्रवेश गरेका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।
एमाले र माओवादी केन्द्र एकता भएर ‘नेकपा’ बन्दा माओवादीबाट गृहमन्त्री बनेका थापा बिहीबार हेटौंडाबाट एकसाथ दुई चोट बोकेर काठमाडौं फर्किएका छन् ।
६ जेठ २०७८ थापाका लागि ‘कालो बादल’ लागेजस्तै बन्न पुगेको छ । उनीमाथि एकैदिन दुई बज्रपात आइलागेको छ ।
सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किंदा एमालेमै रहेर गृहमन्त्री भइरहेका थापालाई बिहीबार नै सर्वोच्च अदालतले गृहमन्त्रीबाट मुक्त गरिदियो । एमाले उम्मेदवार बनेर राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका उनले बिहीबार नै हार बेहोर्नु प-यो ।
उत्साहसाथ मंगलबार राज्यशक्ति प्रयोग गरेर चुनाव जित्न हेटौंडा आएका थापा बिहीबार सबै जिम्मेवारीबाट मुक्त भएर चोट बोक्दै काठमाडौं फर्किनुपरेको हो ।
आफैंले गुमाएको राष्ट्रिय सभा सदस्य पदमा फेरि उम्मेदवार बन्दा उनले नमिठो पराजय बोकेका छन् । योसँगै उनको ‘राजनीतिक भविष्य के होला ?’ भन्ने प्रश्न खडा भएको छ । ध्रुब लम्सालले राजधानी दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया