२९ आश्विन २०८३, बिहिबार

भिटामिन ‘डी’का यी गम्भीर आठ लक्षण, यस्तो छ उपचार पद्धति

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डा. हेमराज कोइराला

परिचय

भिटामिन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो भिटामिन प्राकृतिक रुपमा धेरै कम खानेकुराहरूमा मात्र पाइन्छ । क्यालसियम र फस्फोरस जस्ता महत्वपूर्ण खनिज तत्वहरूको उपपाचन (metabolism) का लागि आवश्यक यो भिटामिनको कमि आजकल आम रुपमै देखिन थालेको छ । आन्तरिक रुपमा शरीरभित्रै पनि बन्न सक्ने हुनाले धेरै वैज्ञानिकहरू यसलाई भिटामिन नमानेर हरमोन पनि मान्दछन् ।

श्रोत

प्राकृतिक रुपमा धेरै कम खानेकुरामा भिटामिन ‘डी’ पाइन्छ । विशेषत समुद्री माछा, टयुना, सालमोन, म्याकारोलको कलेजोमा भिटामिन पाइन्छ । थोरै मात्रामा अन्य जानवरको कलेजो, पनिर, अण्डाको पहेलो भाग र दुधमा पनि भिटामिन ‘डी’ पाइन्छ । केही च्याउहरूमा पनि थोरै मात्रामा भिटामिन ‘डी’ मिल्न सक्छ । प्राकृतिक रुपमा धेरै कम तत्वहरूमा भिटामिन ‘डी’ पाइने भएकाले आजकल दुध, मख्खन, पनिर र तैयारी खानेकुराहरूमा पनि भिटामिन ‘डी’ मिसाउने (fortified) गर्न थालिएको छ ।

दैनिक आवश्यकता

विभिन्न उमेर समूहका ब्याक्तिहरूका लागि निम्न लिखित मात्रामा भिटामिन चाहिन्छ ।

१. १ दिन —१ वर्ष ४०० आइ.यू.
२. १ वर्ष — १२ वर्ष ६०० आइ.यू.
३. १३ वर्ष — १८ वर्ष ७०० आइ.यू.
४. १८ वर्ष — ५० वर्ष ७०० आइ.यू
५. ५१ वर्ष — ७० वर्ष ८०० आइ.यू.
६.. ७० बर्ष भन्दा माथि १००० आइ.यू.
७. गर्भवती १००० आइ.यू.
८. स्तनपाना १००० आइ.यू.

भिटामिन ‘डी’को कामहरू

१. भिटामिन ‘डी’ले आन्द्रामा क्याल्सियम र फस्फोरसको अवशोषणलाई मद्दत पुर्‍याउँदछ ।

२. क्याल्सियम र फष्फोरस जस्ता तत्वहरूलाई हड्डीमा पुञ्याएर अस्थि घनत्वलाई बरकरार राख्न पनि भिटामिन ‘डी’को आवश्यकता पर्दछ ।

३. मृगौलामा मुत्रको रुपमा खेर गइरहेको क्याल्सियमलाई पुनः अवशोषण गरि क्याल्सियम नष्ट हुन दिँदैन ।

४. भिटामिन ‘डी’ले हड्डी मांशपेशी र लिगामेन्टहरूलाई मजबुद बनाउँदछ ।

५. नशा र मांशपेशीको कार्यलाई सुचारु बनाउँदछ ।

६. शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ ।

७. घाउ, खटिरा, चोटपटक र संक्रामक रोगहरू चाँडै निको पार्न मद्दत पुर्‍याउँदछ ।

८. मुटु, मृगौला, कलेजो, फोक्सो जस्ता कोमल अड्डहरूको रोगहरूको गम्भीरतालाई घटाएर रोगलाई नियन्त्रण गर्न मद्दत पु¥याउँदछ ।

९. क्यान्सर प्रतिकार गर्न मद्दत पुर्‍याउँदछ

१०. डर चिन्ता तनाव र उदाशीनताको समस्या कम गर्न सहयोग गर्दछ ।

कमी भए के के हुन्छ ?

भिटामिन ‘डी’को कमीले बच्चाहरूमा ‘रिकेट्स’ र वयस्कहरूमा ‘अष्टियोमलासिया’ नामक रोगहरू लाग्दछ । यी रोग लागेकाहरूको आन्द्राले पर्याप्त क्याल्सियम अवशोषित गर्न सक्दैन । फलतः रगतमा क्याल्सियम र फस्फोरसको स्तर यथावत राख्न शरीरले हड्डी र कार्टिलेजहरूमा संकलित क्याल्सियम र फस्फोरस निकालेर रक्त स्रत कायम राख्दछ । भिटामिन ‘डी’को कमी भए पिसाबमा खेर गइरहेका क्याल्सियम र फस्फोरसलाई पनि पुनः अवशोषण गरेर फर्काउन नसक्दा पिसाबमा यी तत्वहरूको उत्सर्जन देख्न सकिन्छ ।

यी सबै घटनाहरू मुुख्यतः निम्नलिखित लक्षणहरू देख्न सकिन्छ

१. हड्डीको अस्थी घनत्व घट्ने । २. हड्डी कमजोर भई भाच्चिने चर्किन र बाड्डिने । ३. जोर्नीहरू दुख्ने, चलाउँदा कटकट आवाज आउने । ४. ढाड, कम्मर, गर्दन दुख्ने, पिडुला, तिघ्रा दुख्ने । ५. कपाल झर्ने, नड्ड भाचिने । ६. जिउ पोल्ने, मासंपेशी बाउडिने । ७. घाउ, खटिरा र संक्रमण भइरहने । ८. थाकेको महसुस हुने, सिथिलता बढ्ने । ९. बेचैनी बढ्ने, भावनात्मक विचलन भइरहने । १०. महिनावारी गडवड भइरहने । ११. बाँझोपन र नपुंशता जस्ता समस्या देखापर्ने । १२. हरगानेहरूको असन्तुलन

भिटामिट ‘डी’ ज्यादा भए के हुन्छ ?

शरीरमा चाहिनेभन्दा ज्यादा भिटामिन ‘डी’ भए पनि नशा र मांशपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने, मांशपेशीको टोन कम हुने, वेचैनी बढ्ने, कोमल तन्तुहरूमा क्याल्सियम जम्मा हुने, मृगौलामा पत्थरी पलाउने मृगौला फेल हुने र हड्डी र कलेजहरू असाधरण रुपले बढ्ने जस्ता समस्या देखा पर्दछ ।

भिटामिन ‘डी’ कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’को रक्तस्तर ठीक छ वा छैन भनेर भिटामिन ‘डी’ २५ हाइड्रोक्सी–कोलेक्यल्सिफेरोलको रक्त–स्तर जाँच्नु पर्ने हुन्छ । रक्तस्तरलाई इकाईमा मापन गरिन्छ ।

क. १० एनजी, एमएलभन्दा तल अत्यन्त कमी

ख. १०–२० एनजी, एमएलभन्दा तल कमी

ग. २०–३० एनजी, एमएल अपर्याप्त

घ. ३०–५० एनजी, एमएल ठीक्क

ङ. ५०–१०० एनजी, एमएल प्रयाप्त

च. १०० भन्दा एनजी, एमएलभन्दा माथि विषाक्त

छ. ८०० एनजी, एमएल खतरनाक विषाक्त

उपचार

भिटामिन ‘डी’ कम भएकाहरूले यो कमीलाई पूर्ति गर्न सर्वप्रथम शरीरभित्रै भिटामिन ‘डी’ बन्ने क्रियालाई बढाउनुपर्ने हुन्छ । यसका लागि सूर्यको किरणमा बस्नुपर्ने हुन्छ । हप्तामा १ वा २ दिन वा महिनामा ५–७ दिन वा वर्षमा ५०–६० दिन हरेक पल्ट ४५ मिनटदेखि १ घण्टासम्म घाममा बसियो भने पनि शरीरलाई चाहिने जति भिटामिन ‘डी’ शरीरभित्रै बन्न सक्छ । घाममा बस्दा सकभर निवस्त्र भएरै बसेको राम्रो हो । निवस्त्र हुन सम्भव नभए कमसेकम ८०–८५ प्रतिशत हिस्सा कपडा विहीन हुन आवश्यक छ । घाम जति चर्को भयो त्यति नै भिटामिन ‘डी’को संश्लेषण ज्यादा हुन्छ । चर्को घाममा सूर्यको अल्ट्राभाइलेट विकिरणले अन्य अंग र छालालाई आघात पु¥याउने हुँदा सकभर बिहानको घाम ताप्न उचित हुन्छ ।

खानपानमा ध्यान दियौँ

भिटामिन ‘डी’ खानाको माध्यमद्वारा पनि प्राप्त गर्न सकिन्छ । भिटामिन ‘डी’को मुख्य प्राकृतिक श्रोत माछा, माछाको तेल, कलेजो, मृगौला, अण्डा जस्ता फलमासु हुन् । मासु आफैमा स्वस्थकर खाना नभएकाले भिटामिन ‘डी’को लागि मासु नखाएर सप्लिमेण्ट लिनु उपयुक्त हुन्छ । आजकल भिटामिन ‘डी’ मिसाइएको दही, दुध, तोफु, चिज, पनिर र अन्य खानेकुराहरू पनि पाइन्छ । यो चिल्लो पदार्थमा घुल्ने भिटामिन हो । तसर्थ भिटामिन ‘डी’लाई सहि सदुपयोग गर्न स्वस्थकर चिल्लो पदार्थ खानुपर्ने हुन्छ । विशेषतः तैतिय फलफूल, सुख्खा फलफूल र क्रिमयुक्त दुध तथा दुग्ध परिकार आदि खान स्वस्थकर हुन्छ भिटामिन ‘डी’ युक्त खानेकुराहरूको साथमा क्यालसियमयुक्त खानेकुराहरूको सेवन गर्न पनि अपरिहार्य हुन्छ । दुध र दुग्धजन्य परिकारहरू हरियो सागपात, पालुँगो, लट्टे, लुडे, वेथे, च्याउ, सिमी, बोडी, काउली, ब्रोकाउली, चुकन्दर, टमाटर, केरा सुन्तला, सिंघाडा आदिमा प्रसस्त क्याल्सियम पाइन्छ । कोदो, फापर, गहत, मकै, जवार, बाजरा, जूनेलो, सामा, कागुनी चिनो आदिमा पनि प्रशस्त क्यालसियम पाइन्छ । सुख्खा फलफूल जस्तै बदाम, किसमिस, छोकडा, खजुर, अंजीर, ओखर, तिल, मुङफली जस्ता खानेकुरामा पनि प्रशस्त क्यालसियम पाइन्छ ।

व्यायम

श्रम वा व्यायम गर्ने बानीले शरीरलाई स्फूर्त एवं तन्दुरूस्त बनाइरहन मद्दत गर्दछ । व्यायाम गर्दा नशा नाडीमा रक्त संचार भइरहने हुँदा भिटामिन ‘डी’लाई कोष कोषसम्म पुर्‍याएर यसको कार्यलाई पूर्ण गर्न मद्दत पुर्‍याउँदछ । दैनिक ३० मिनेटको व्यायम सबैलाई आवश्यक पर्दछ । व्यायम गर्दा एकपल्ट शरीरका सबै जोर्नीहरू चल्नुपर्ने एकपल्ट सररर पसिना फुट्नु पर्ने र शरीरका भित्री अंगको पनि व्यायम हुनु पर्ने हुन्छ ।

घरेलु उपचार

१. दैनिक दुध र बेसारको सेवन गरौ ।

२. भिटामिन ‘डी’ कमी भएकाहरूको मुख्यक्त छाला, आन्द्रा, हड्डी र मृगौला र कलेजोलाई प्रभावित पार्ने खालको उपचार गर्नुपर्ने हुन्छ ।

३. छालालाई सक्रिय गर्नका लागि दैनिक तेल मालिस गरेर घाममा बस्ने गरौँ ।

४. पेटका समस्या भएकाहरूले यथाविधि उपचार गर्नुपर्दछ । लिवर र किड्नीलाई प्रभावित पार्ने विशेष उपचारहरू पनि गर्नुपर्ने हुन्छ ।

५. बदामको तेल दुधमा मिलाएर खादा पनि यो रोगमा फाइदा पु¥याउँदछ ।

भिटामिन ‘डी’ D2 र D3 गरि दुई प्रकार

१. भिटामिन D2 लाई अर्गोक्यासिफेरले भनिन्छ । यो मिश्रित आहार वनस्पति आहार र पुरक आहारमा पाइन्छ ।

२. भिटामिन D3 लाई कोलेक्याल्सिफेरोल भनिन्छ । यो मिश्रित आहार माछा, मासु, अण्डा, कलेजो आदिमा पाईन्छ । प्राकृतिक रुपमा सूर्यको किरणको उपस्थितमा यो भिटामिनक शरीरभित्रै पनि बन्दछ ।

लक्ष्णहरू

१. थकान । २. मांशपेशी एवं हड्डीमा दीर्घकालीन पीडा । ३) तौल बढ्ने । ४. हड्डी र मांशपेशीहरूमा ऐठन र कमजोरी । ५. जोर्नी दुख्ने । ६. निन्द्रा कचमिच रहने । ७. मानसिक तनाव । ८. स्मृतिनास । ९. टाउको दुख्ने । १०. रक्तचाप बढ्ने । ११. नरमाइलो लागि रहने । १२. एकाग्र, ध्यानात्मक र लयात्मक हुन नसक्ने । १३. इच्छाशक्तिमा कमी । १४. घोर निरासा । १५. बेचैनी ।

कम हुने कारणहरू

१. खानामा भिटामिन ‘डी’ युक्त खानेकराहरूको कमी । २. घाममा एक्सपोज हुन नसक्ने जीवनशैली । ३. सूर्यको किरण प्रतिराधि निवास स्थान, भेषभुषा र मौसम । ४. धेरै कालो छाला, छालामा भएको मेलालिन पिगमेण्टले सूर्यको अल्ट्रामाइलेट वी (UVB) लाई प्रतिरोध गरि भिटामिन बन्न दिदैन । ५. पाचन प्रणाली कलेजो एवं मृगौला सम्बन्धि रोगहरू । ६. मोटोपन । ७. तनाव चिन्ता भय उदासिनता अनिन्द्रा र अन्य मनोवैज्ञानिक समस्याहरू । ८. क्रोन्स डीजीज, सिस्टिक फाइब्रोसिस, सिलियाक रोग जस्ता रोगः जस्ले भिटामिन डी का अवेशेषणलाई प्रभावित गर्छ ।

श्रोत

खानाबाट प्रयाप्त मात्रमा भिटामिन ‘डी’ पाउन गाह्रो छ । मांशजन्य वस्तुबाट लिँदा पनि त्यसबाट भिटामिन ‘डी’ त पाइएला तर, त्यसका धेरै साइड इफेक्ट छन् । यस्तो स्थितिमा भिटामिन ‘डी’ प्राप्त गर्ने भरपर्दो श्रोत भनेकै सूर्यको किरण ताप्नु र शरीरभित्रै भिटामिन ‘डी’ बन्ने क्रियालाई बटुवा दिनु हो ।

तथापि केहि खानेकुरामा भिटामिन ‘डी’ पाइन्छ

१. बोसो भएको माछा, माछाको तेल २. कलेजो ३. अण्डाको पहेंलो भाग ४. पनिर, चिज, नौनी, दुध ५. मर्जारिन ६. भिटामिन ‘डी’ मिसाइएको खानेकुराहरू

प्राकृतिक उपचार

१. भिटामिन ‘डी’को स्तर सुधार्नको दैनिक ४५ मिनटदेखि १ घण्टासम्म कटिवस्त्र मात्र लगाएर घाम तापौं ।

२. बाहिर घुमफिर गर्न निस्कदा सनब्लक लोसन वा सनस्क्रिनको प्रयोग नगरौं ।

३. घाम तप्न नपाउने वा नसक्नेहरूले भिटामिन ‘डी’ मिसाइएको आहारहरूलाई खानामा समावेश गरौँ ।

४. भिटामिन ‘डी’को स्तर कम देखिएकाहरूले भिटामिन ‘डी’को सप्लिमेन्ट लिने गरौँ ।

५. कम नभएकाहरूले राम्रो क्वालीटीको मल्टिभिटामिन लिने गरौँ ।

६. बेलाबेलामा भिटामिन ‘डी’को स्तर चेक जाँच गर्ने गरौँ ।

७. तेल मालिसले भिटामिन ‘डी’को कमीमा राम्रो काम गर्दछ ।

८. कुरीलोको जरा मेथीको धुलो वा अंकुरित, विजयशालको काठको सेवनले पनि भिटामिन ‘डी’को कमीले उत्पन्न समस्याहरू समन गर्त मद्दत गर्दछ ।