बागलुङ, २२ चैत । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले सङ्घीयताको विषयलाई थाती राखेर संविधान जारी गर्न नसकिने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घले आइतबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानसभाको मुख्य एजेन्डा सङ्घीयताको विषय नै टुङ्गोमा नपुर्याई संविधान जारी हुन नसक्ने बताउनुभएको हो ।
नेता भट्टराईले सत्ताधारी नेपाली काँग्रेस, नेकपा एमालेले संविधानसभालाई अपहरण गरेको आरोप पनि लगाउनुभयो । ‘गत माघ ११ गतेदेखि नै संविधानसभाको अपहरण गर्ने खेल सत्ताघारी दलले गरेका छन्,’ भट्टराईले भन्नुभयो ।
उहाँले सत्ताधारी दलले गणितीय दम्भ देखाएर परिवर्तनका एजेन्डालाई पाखा लगाएको उल्लेख गर्नुभयो । ‘संघियता थाती राखेर संविधान ल्याउन खोजीए आगो लगाउन पछि हट्ने छैनौ’ उहाँले भन्नुभयो ।
अन्तरिम संविधानमा जुन मूल्य र मान्यता स्थापित छन् त्यसकै आधारमा संविधान जारी हुनुपर्ने उहाँको माग थियो । वार्ता र संवादबाटै जेठ १५ मा सहमतिको संविधान जारी गर्न आफूहरु तयार रहेको नेता बाबुरामको भनाई छ ।














प्रतिक्रिया