१ कार्तिक २०८३, शनिबार

४ प्रतिशत आर्थिक वृद्धि कठिन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको थियो ।

निरन्तर निषेधाज्ञा हुन थालेपछि राष्ट्र बैंकले मौद्रिक नीति त्रैमासिक समीक्षामार्फत ४ प्रतिशत आर्थिक वृद्धि कठिन हुने संकेत दिएको हो ।

यो विश्व अर्थतन्त्रको औसतभन्दा निकै कम हो । विकसितलगायत धेरै देशमा कोभिडविरुद्ध खोप सुरु भएको र आर्थिक पुनरुत्थानका लागि खुकुलो वित्त एवं मौद्रिक नीति अवलम्बन गरिएको छ । यही कारण विश्व अर्थतन्त्र पुनरुत्थानतर्फ अघि बढेको राष्ट्र बंैकले जनाएको छ ।

सन् २०२० मा ३.३ प्रतिशतले संकुचनमा गएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशतसम्मले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । मुद्रा कोष र अन्य विकास साझेदार संस्थाले नेपालको आर्थिक पुनरुत्थान बाँकी विश्वको तुलनामा कम्तीमा एक वर्ष ढिला हुने प्रक्षेपण गरेका थिए ।

चालू वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरिसकेको छ । नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण सार्वजनिक गर्दै उसले सो आँकलन गरेको हो ।

सामाजिक दूरी मापदण्ड खुकुलो र अनुकूल मनसुन अपेक्षासहित आर्थिक वर्ष २०७८/७९ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र विस्तार हुने सो प्रतिवेदनले औंल्याएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा २०७६/७७ मा २.२८ प्रतिशतमै सीमित रह्यो ।

नेपालमा सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई ‘लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट’ स्थापना प्रयोजनका लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाले आधार दरमै उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । आधार दर बैंकको सबैभन्दा कम हो ।

स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई ‘लिक्विड अक्सिजन प्लान्ट’मा ५० करोडसम्म तथा अक्सिजन प्लान्ट प्रयोजनमा २० करोडसम्मको कर्जालाई एक वर्षका लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । पूर्णभक्त दुवालले राजधानी दैनिकमा खबर लेखेका छन् ।