सिरहा, ४ जेठ । सप्तरी डाक्नेश्वरी नगरपालिका–८ बिसहरिया गाउँका ४० वर्षीय शम्भुनन्दन चौधरी रूघाकोखीबाट संक्रमित भए। उनले राजविराजका चिकित्सक डा. टेकनारायण मण्डलको सल्लाहमा औषधि सेवन गर्न थाले। औषधि खाँदा निको नभएपछि उनलाई शंका लाग्यो। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा आरटी पिसिआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो। तर रुघाखोकीसँगै ज्वरो टसमस भएन। झन् झन् बल्झिँदै गयो।
वैशाख १८ मा सहयोगी राजेन्द्र यादवसँगै उनी चिनजानका डा. लक्ष्मीनारायण यादवसँग जाँच गराउन विराटनगर पुगे। डा. यादवले एक्सरेसहित केही परीक्षण गराउन सल्लाह दिए। एक्सरे रिपोर्ट हेरेपछि डा. यादवले चौधरीलाई कोरोनाको शंका गरे। तत्काल उनको अक्सिजन सेचुरेसन जाँच गर्दा ८२ देखायो। डा.यादवले तुरुन्त अक्सिजन सपोर्टमा राख्न सल्लाह दिँदै कोसी अस्पताल रेफर गरे। करिब एक घन्टा अक्सिजन दिएपछि चौधरीले सास फेर्न सहज महसुस गरे।
लगत्तै पिसिआर परीक्षणका लागि स्वाब लिएर उनलाई आइसोलेसनमा भर्ना गरियो। आइसोलेसनमै रहेका बेला वैशाख १८ मा उनको रिपोर्ट पोजेटिभ आयो। सोही राति करिब ८ बजे चौधरीलाई नोबेल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गराइएको सहयोगी राजेन्द्रले बताए। आइसोलेसनबाट आइसियु हुँदै वैशाख २९ मा डिस्चार्ज भएर घर फर्किने तरखर गरिरहँदा अचानक चौधरीको मृत्यु भयो। उनको उपचारमा करिब चार लाख रूपैयाँ खर्च भएको यादवले बताए। चौधरी परिवारमा घरमूली गुमाउनुको पीडासँगै ऋणको भारी चढेको छ।
स्वास्थ्य जाँच र उपचार गराउन सोमबार विराटनगरस्थित कोसी अस्पताल गएकी चिनी रोगबाट पीडित सप्तरीको कञ्चनरूप नगरपालिका–११ गोरपारकी ६५ वर्षीया महिलाको पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भयो। अवस्था सामान्य रहेको भन्दै अस्पतालले होम आइसोलेसनमा बस्न सुझाव दिई उनलाई घर पठायो। गत बुधबार उनको अचानक स्वास्थ्य बिग्रियो। परिवारका सदस्य र गाउँलेले धरान, विराटनगर र राजविराजका अस्पतालसँग अनुनयविनय गरे। अस्पतालका बेड संक्रमितले भरिएको भन्दै कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि घरमै राखियो। उपचार नपाएपछि उनको सोमबार बिहान मृत्यु भएको परिवारका सदस्यले बताए। सरकारी अस्पताल कोसीले भर्ना नगरिदिएकै कारण उनको ज्यान गएको परिवारका सदस्यको गुनासो छ। मिथिलेश यादवले नागरिक दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया