भीडमा रुमल्लिएको तथ्यको पहिचान निक्कै विलम्बमा हुने गर्छ । अहिले डा गोविन्द केसीको सत्याग्रही आन्दोलनका पक्षमा भीड जम्मा छ । बलिरहेको आगोमा काँचो दाउरा फ्याँक्दा झन बल्छ भन्ने मानविय चेतनाको हेक्का नभइकन मैले यसअघि दैनिक नेपालमा ‘जुस पिएपछि केसीलाई मेरा प्रश्नहरु’ लेखेको होइन । अनेक प्रतिक्रियाहरु आएका छन्, सवै स्वीकारयोग्य र तर्कयोग्य छन् । कतिपयका रिसका ज्वारभाटा निक्कै बलियो भएछन्, उहाँहरुको आवेगको शव्दहरु पनि सुन्ने मौका पाएँ । यद्यपि, म तथ्यभन्दा बाहिर, समाजभन्दा पर गएर कुतर्कमा रुमल्लिन चहान्न । मैले डा गोविन्द केसीको सत्याग्रह गलत कहिल्यै भनेकै छैन, उनको आन्दोलनसँगको असहमति पनि हुँदै होइन । तर, उनको आन्दोलनको नाममा एकथरी मेडिकल माफियाको गिरोहले उठाउन सक्ने फाइदाको सानो झिल्को छाडेको थिएँ । यस विषयमा धेरैका धेरै कुरा आए, सवै स्वीकारयोग्य छन् । तर, तर्क र तथ्य कहिलेपनि एउटै हुँदैन । तर्क भन्नका लागि सहज हुन्छन्, तथ्य व्यवाहारिक उपयोगमा आधारित हुन्छ । लोकतन्त्रमा सही र गलत भन्ने, छुट्याउने र आफ्ना विचार प्रवाह गर्ने सवैलाई अधिकार छ, त्यो मौलिक न्याय हो ।
सत्याग्रहको आन्दोलनमा भगवान ठानिएका डाक्टरहरुले अस्पतालमा सेवा बन्द गराएर क्लिनिकमा महँगो शुल्क लिएको यथार्थको विरोधी हुँ म । यसको विरोध हरहमेसा म गरिरहन्छु, चाहे दर्जन डा केसीहरु सत्याग्रहमा बस्दा जनतालाई सेवा बन्द गरी आदर्शको कुरा गर्ने हुल बलियो होस् । म यसलाई हिंसात्मक आन्दोलनको नाम दिन्छु, किनभने हिंसाका लागि गोली, बम बारुदमात्रै चाहिन्न, जनताको बाँच्न पाउने अधिकार कुण्ठित गर्ने एप्रोनधारीहरु जब आन्दोलनका नाममा जनतामारा निर्णयमा पुग्छन् । यसको बचाउ कुनै मुल्यमा गर्न सकिँदैन ।
निम्न मध्यम वर्गीय परिवारमा हुर्किनुको विकल्प हो, मेरो पेसा पत्रकारिता । सम्भवतः तर्कवाज र एप्रोन लगाएर सडकमा जाँने हुलहुज्जत भित्र म पनि पर्ने थिएँ, एलीट भएर जन्मिएको भए । भर्खर नर्सरीतिर पढ्न सुरु गरेका बच्चालाई सोधिन्छ– बाबु ठूलो भएर के बन्ने ? उसको तोते बोली फुट्छ– दाक्तर !
हो, विचरा उसलाई ठूलो भएर डाक्टर हुने हो कि डाक्टर भएर ठूलो हुने हो भन्नेबारेको भिन्नता पनि थाहा हुँदैन । मलाई लाग्छ, मान्छे डाक्टर भएपछि ठूला हुन्छन्, ठूला भएपछिका अनेक गन्तव्य र पेशा हुन्छ । तर, त्यो बालकको आँखामा ठूलो भनेको डाक्टर किन भयो ? किनभने हामी सिकाउँछौं, डाक्टर सभ्य, नागरिकप्रति उत्तरदायी, भद्र, भगवानको दोस्रो अवतार हो । यी मान्यताहरु नेपाली परिप्रेक्षमा कति स्थापित भए, कति हुन बाँकी छन्, यो सवैले विश्लेषण र विचरण गर्न सक्छन्, खासगरी डाक्टर साहवहरुले । सत्याग्रहको आन्दोलनमा भगवान ठानिएका डाक्टरहरुले अस्पतालमा सेवा बन्द गराएर क्लिनिकमा महँगो शुल्क लिएको यथार्थको विरोधी हुँ म । यसको विरोध हरहमेसा म गरिरहन्छु, चाहे दर्जन डा केसीहरु सत्याग्रहमा बस्दा जनतालाई सेवा बन्द गरी आदर्शको कुरा गर्ने हुल बलियो होस् । म यसलाई हिंसात्मक आन्दोलनको नाम दिन्छु, किनभने हिंसाका लागि गोली, बम बारुदमात्रै चाहिन्न, जनताको बाँच्न पाउने अधिकार कुण्ठित गर्ने एप्रोनधारीहरु जब आन्दोलनका नाममा जनतामारा निर्णयमा पुग्छन् । यसको बचाउ कुनै मुल्यमा गर्न सकिँदैन ।
डाक्टरविहीन गाउँ बारेका समाचार हामीले लेखेका छौं । गाउँ जान नमान्ने डाक्टरहरुको कथा हामीले लेखेका छौं । मेरा लेखसँग असहमति राख्ने, डा केसीको आन्दोलनको अन्धभक्त समर्थन गर्ने हज्जारौं डाक्टरलाई सोध्न चहान्छु, विकट जिल्लामा गएर काम गर्छु भनेर तपाई डाक्टरसाबहरुले सरकारसँग सरुवा कति माग्नुभएको छ ? कति निवेदन दिनु भएको छ ? डा केसीको कर्मको झोलाभित्रको यथार्थमा उभिएर आफ्नो आङ् कन्याउनु ठूलो कुरा होइन । हो, म गाउँ जान चाहन्छु, म गरिब र दिनदुखीको सेवा गर्न चहान्छु । मलाई कालिकोटको कुनै ग्रामीण बस्तीमा पठाउ भन्ने आँट, डा केसीका समर्थकहरुसँग छ ? मित्रगणहरु तर्क गर्न बडो सहज छ, व्यवहारमा उतार्न गाह्रो छ । सरकार बनाउने जनता हो, जनताको नाममा गरिने आन्दोलन जनतामारा कहिले पनि हुँदैन । जनताको सेवाका लागि हुन्छ ।
आदर्शको तर्क र यथार्थको धरातलको सीमाना कहिले पनि जोडिँदैन । नेपालको सन्दर्भमा यी समानान्तर रेखा जस्तै हुन् । हेर्दा समान देखिन्छन् तर तिनको मिलनविन्दु पटक्कै हुँदैन । रेखाहरु कहाँ पुग्छन् थाहा हुँदैन, ती अनन्त हुन्छन् तर एकआपसमा भेटिँदैनन् । तर्क गर्नका लागि सालिन र सभ्य देखिन्छन्, यथार्थ भोग्नेहरुको अञ्जुली, पटुकी, पोको पन्त्यौरोमा झुन्डिएको हुन्छ । मरेको कल्पना गर्नु र मरिहाल्नुमा निक्कै भिन्नता हुन्छ । म फेरि पनि मेडिकल कलेजको सन्दर्भमा उठेका केही प्रश्नहरुसँग नजिक छु । मेरो अघिल्लो तर्कसँग केही असहमति र आफ्ना धारणा राख्नेहरुप्रति कृतज्ञ छु ।
मेरो आशय वा मेरो भनाई डा केसीका मागविरुद्ध मेडिकल कलेज खुल्न पाउनुपर्छ भन्ने कदापी पनि छैन । तर, मेरो प्रश्न के हो भने सम्बन्धन लिएर, प्रक्रियामा भएकाहरुमा जुन जनताको पैसा लगानी भइसकेको छ, त्यसको सुरक्षणको ग्यारेन्टी र भविष्यप्रतिको जिम्मेबार को हुन्छ ? सरकार गैरजिम्मेबार छ र त प्रश्नहरु, आन्दोलनहरु उव्जिएका हुन् । जिम्मेबार भएको भए, यी कुराहरु कसरी उठ्ने थिए त ? ती ११ बुँदे सम्झौतामा अहिलेसम्म भएका जनताको पैसा उठाएका बैंकका प्रबन्धकहरुलाई कारवाही गर्ने, बैंकमा डिपोजिट भएका जनताको पैसा सरकारले तिरिदिने भन्ने बुँदा किन थपिएन ? मेरो प्रश्न यहाँनेर हो । डाक्टर प्राविधिक पढाई भएका कारणले ठूलो खर्च हुन्छ भन्ने कुरा दुनियाँलाई थाहा छ, अमेरिकामा गएर पढ्नुहोस् वा जुम्लामा गएर पढ्नुहोस् । यसमा यहाँभन्दा बढी मेरो टिप्पणी छैन । साहित्य पढ्न सजिलो छ, डाक्टर पढ्न सजिलो छैन, आर्थिक रुपमा । यो कुरामा दुनियाँ अभ्यस्त छन्, एकाध छात्रवृत्ति पाएका बाहेक ।
मानव जीवनको संवेदना, उसको भोगाई जनजीवनको यथार्थ चित्र रोगका आधारमा तपाईहरुले भयंकर देख्नुभएको होला तर भोगका आधारमा मैले हर पाइलामा महसुस गरेको छु । डा. को मुल्य र मान्यता, उसको परिश्रम, मिहेनतको खिसीपीटी होइन, यो समाजभित्रको मेडिकलले जन्माएको वियोगको निरन्तरताको ढाँचाको कुरा गरिरहेको छु । आदर्शवादी डा. गोविन्द केसीको सत्याग्रहको विरोधी म पटक्कै होइन, उनको आदर्शमा कुल्चिएर मेडिकल लाभांश लिने र पेशा छाडेर राजनीतितिर होमिएका कथित डाक्टरहरुको कुरा गरिरहेको छु ।
सरकारसँग भएका ११ बुँदे सम्झौताका सवै बुँदाहरु हेर्दा बडो आनन्द आउँछ । संसार जितेको जस्तो भान पनि हुन्छ । बुँदा ८ सम्मका मागहरु डा. केसीको सत्याग्रहका उपलव्धि मान्नुपर्छ । तर, बुँदा नम्बर ९, १० र ११ लाई ख्याल गर्नु अति अनिवार्य छ । बुँदा नं ९ कत्तिको उपयुक्त लाग्यो, तपाईहरुलाई ? मान्छेका सपनाहरु चकनाचुर पार्ने नीहित स्वार्थ कुनैपनि एउटा मान्छेको अधिकार हुँदैन, लोकतन्त्रमा । काठमाडौं विश्वविद्यालय अन्तर्गत ती पढिरहेका नवआगन्तुक डाक्टरहरुको सपना भत्काउने सम्झौता गर्ने ती डा. केसीका मतियारहरुलाई कसले दियो अधिकार ? काठमाडौं विश्वविद्यालयअन्तर्गत जतिपनि डा. उत्पादन हुँदै गरेका छन्, उनको परिवारको पसिनाले खर्चेको पैसो, उनीहरुको मिहेनतले जित्दै गरेको सपना भत्काउने अधिकार आन्दोलनकारीका नाममा अन्य डाक्टरहरुलाई छ ? यो कुरा, डा. गोविन्द केसीलाई थाहा छ कि छैन ? मेडिकल कलेजहरुलाई कारवाही गर्ने कुरा प्रष्ट छ, विद्यार्थीहरुलाई उपयुक्त व्यवस्थापन गर्ने भनेको के हो ? कहाँ हुन्छ उनीहरुको व्यवस्थापन ? उनीहरुको करिकुलम अव कुन विश्वविद्यालयमा पूरा हुन्छ ? यस्तो अष्पष्ट कुरामा सम्झौता गरी कुनैपनि विश्वविद्यालयको खास अभियान र उत्कृष्टतालाई कमजोर बनाउने सम्झौता गरिएको छ कि छैन ? त्यसको उत्तर डा गोविन्द केसीले दिने कि सरकारले ? डाक्टर सा’बहरुलाई उत्तर– कसैको भविष्य भत्कन हुँदैन भन्ने मेरो आशय हो । म यो भ्रम पाल्दिन कि मेरो कर्तव्य भुलेर हर प्रश्नका उत्तरहरु सरकारले दिनेछ भन्ने । म स्पष्ट छु– संकट निम्त्याउने सरकार हो, समाधान गर्ने पनि सरकार हो । तर, दायित्व हामीमा रहन्छ, कस्तो सरकार बनाउने अनि कस्तो व्यवहार स्थापित गर्ने भन्नेचाँही ।
‘गाँडो’ देशमा ‘लाटो’ तन्नेरी अनेक भेटिन्छन् ! (कोड गरिएका शव्द उखानका आधारमा राखेको हुँ, यसबाट कुनै व्यक्ति वा पक्षलाई हुनसक्ने असरलाई नजरअन्दाज गरेको छैन ।) ती तन्नेरीहरुलाई मेरो विनम्र सुझाव छ, भीँडको मौकालाई भावनाको आकारमा बाँधेर कसैलाई गाली गर्दैमा सतहको यथार्थ बदलिँदैन । मेडिकल माफियाकाविरुद्ध भएको आन्दोलन वा सत्याग्रह मेडिकल माफियाकै लाभांशका लागि प्रयोग हुनु हुँदैन भन्ने मेरो मान्यता हो । दिर्घकालिन योजनाका लागि भएको सत्याग्रहको आन्दोलन तत्कालिक समस्या निराकरणको पक्षमा पनि हुनुपर्छ भन्ने नै हो । वर्तमान समस्यालाई थाँती राखेर दिर्घकालिन योजना पूरा हुन्छ भन्ने म विश्वास गर्न सक्तिन । भ्रष्टहरुलाई कारवाही हुनुपर्छ, तत्कालै भएको निक्कै राम्रो । तर, उनीहरुले सम्बन्धन नै दिइसकेका छन् र काम अघि बढिसकेको छ भने त्यसको न्यायिक निराकरणको मुद्दालाई किन अलप बनाएको ? बनाइएको ? अहिले अध्ययन गरिरहेका हज्जारौं विद्यार्थीको भविष्यको बारेमा सरकार र आन्दोलनकारीले सोच्नुपर्छ कि पर्दैन ? – यो प्रश्न छाडेको हो, मैले ।
केही साथीहरुले मेरो लेखनलाई प्रयोगका रुपमा व्याख्या गर्नुभएको छ, सम्भवतः उहाँहरुलाई चेतना होस्, म कसैको पक्षपोषक होइन, मैले अघिल्लो लेखनको शिरमा नै आफुलाई तेस्रो पक्षका रुपमा उभ्याइसकेको थिएँ । मेरो लेखन कलाको प्रशंशा गर्नुहुने सवैलाई धन्यवाद छ, आलोचनाहरुविनाको लेखन पनि पूर्ण हुँदैन भन्ने कुरामा म अडिग र अटल रुपमा विश्वस्त छु ।
पुनश्चः मेडिकल माफियाहरु निमिट्यान्न बनाउने लक्ष्य डा. केसीको हो, तर एकथरी ओझेलमा पार्न सफल भएपनि अर्काथरीले उक्त सत्याग्रहलाई हतियारका रुपमा प्रयोग गरेकै छन्, यो कटु सत्यलाई नकारेर अघि बढ्न सकिँदैन । आदर्शपुरुष एउटा जन्मिन्छ, आदर्शको उपयोग गर्ने कौरबहरुको भिँडमा अनेक विवेकशीलहरुको रगत र पसिना पनि वगिरहन्छ । भिष्मपितामहको असहज आदर्शबीचको कौरबहरुको हठ नै थियो भन्ने कुरालाई म नजरअन्दाज गर्न सक्तिन, त्यसकारण कौरवहरुको भिँडमा चारैतिरबाट घेरिएको भिष्मपितामह बनिरहेका डा. केसीको जित, मेडिकल तस्करहरुको हतियार नबनोस्, यही मनोकांक्षामात्र हो, मेरो । सत्याग्रह नम्र, सत्यको जीतका लागि गरिएको आग्रह नै भएकाले यसको उपलव्धिलाई अनेक पक्षले आफू अनुकुलतामा व्याख्या गर्दै ‘क्यास’ नगरुन्, यहि मेरो खबरदारी पनि हो ।
पत्रकार ढकालको यसअघिको लेख यस्तो थियो, यो पनि पढ्नुहोस्:
जुस पिएपछि केसीलाई मेरा प्रश्नहरु
















प्रतिक्रिया