काठमाडौं, ३० वैशाख । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ ।
वैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो । जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यू’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो ।
मितज्यू नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’ कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनो अन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ । मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ ।
७ वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक ‘मितज्यू’ लाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरूका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको हो । नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो ।
प्रिमियर पश्चात अनलाइन एप्लिकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्तर्क्रिया गरिने समेत थियटरले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अन्तरक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।