बाजुरा २२ चैत । बाजुरामा नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा माओवादीले विकास निर्माणमा भईरहेको ढिलाई र लगानी सदुपयोग बारे अनुसन्धान गर्ने भएको छ ।
ठेकेदार, उपभोक्ता समिति, प्राविधिक र लेखापालको मिलोमतोमा विकासका लागि आएको बजेट दुरुपयोग हुने गरेको निष्र्कष सहित माओवादीले गाउँ गाउँमा गएर प्रत्येक योजनाको अनुसन्धान गर्ने भएको हो ।
माओवादीले शनिवार प्रेश विज्ञप्ती मार्फत सो कुराको जानकारी गराएको छ । विकास निर्माणमा भईरहेको आर्थिक अनियमितता, भ्रष्टाचार, र ढिलासुस्तीको विरुद्धमा अप्रेशन अभियान सुरु गर्ने माओवादीले बताएको छ ।
वर्षेनी करोडौंको बजेट आएपनि नयाँ भौतिक पूर्वाधार र विकास निर्माणको अवस्थामा सुधार नआएको निष्र्कष माओवादीको रहेको भुपेन्द्र विकले बताउनुभयो ।
जनताको नाममा आएको रकमलाई मनपरी गर्दै व्यक्तिगत स्वार्थमा लगाउने नेतादेखि कार्यकर्ता सबैलाई तह लगाउने गरी अभियान सञ्चालन गरिने माओवादीले विज्ञप्ती मार्फत पूर्व सूचना जारी गरेको छ ।
पार्टी सेक्रेटरी मणीद्धारा हस्ताक्षरित विज्ञप्तीमा हाम्रो अभियान भ्रष्टाचारीको खोजी गर्नु र उनीहरुलाई जनताको अगाडी नंग्याउनु हो, भनिएको छ ।
भ्रष्टाचारीलाई कार्वाही गर्ने देश व्यापी अभियान सञ्चालन गरेको माओवादीले बाजुरालाई पनि प्राथमिकतामा राखेको छ । प्रकाशित विज्ञप्ती मार्फत चार वटा मुद्दामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भौतिक निर्माण, आर्थिक अनियमितता, भ्रष्टाचार, सामाजिक, राजनीति विभेदका विरुद्धमा कडा अप्रेशनको तयारी माओवादीले गरेको हो ।
जसमा जिल्लाका बडिमालिका क्याम्पस, मार्तडीको जिल्ली खानेपानी, अम्लीस मावि भवन निर्माण, मार्तडी बसपार्क र सडक निर्माण योजनाहरुलाई पहिलो निरानामा राखेको छ ।
जनताले दिएको सूचनाका आधारमा पहिलो पटक अनुसन्धान सुरु गर्न लागिएको माओवादीको भनाई छ ।
त्यसैगरी गैर सरकारी संस्था र निकायले गर्ने क्रियाकलाप, डलरको खेती, जात र धर्मका नाममा गरिएको वैदेशिक चलखेल, महिला हिंसा, जातिय विभेद, बलात्कार जस्ता सामाजिक कुमान्यता बारे पनि कुरा उठाउने बताएको छ ।
देश र जनताको हित विपरित सञ्चालित जुनसुकै निकायलाई खाजेरी सहित धम्की पनि विज्ञप्ती मार्फत दिएको छ ।
समग्र जिल्लाको हित हुने अभियानमा साथ दिन विज्ञप्ती मार्फत माओवादीले अनुरोध समेत गरेको छ ।
तथ्यमा आधारित, सही विश्लेषण गरेर सूचना दिन जनता र सम्बन्धी योजनाका उपभोक्ताहलाई समेत अनुरोध गरेको छ । भ्रष्टाचारी आन्दोलनमा सबैको साथ सहयोग र समर्थन आवश्यक हुने भएकोले आम जनतासँग अपिल गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।















प्रतिक्रिया