१ कार्तिक २०८३, शनिबार

ओलीलाई ठाकुरको साथ, देउवालाई यादवको समर्थन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तीन दिनको समयसीमा तोकेर आह्वान गरेसँगै राजनीतिक दलहरूको छलफल तीव्र बनेको छ ।

संसद्को ठूलो दल नेपाली कांग्रेसले आफूले नयाँ सरकारको नेतृत्व गर्ने बताएको छ । यसका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको समूहले साथ दिने भएको छ ।

सरकार गठनबारे छलफल गर्न सभापति देउवाले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुग्नुभएको थियो ।

संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा रहेको भए पनि कांग्रेस एमालेको नेपाल समूहले समयमा नै निर्णय नगर्दा उक्त निर्णयबाट पछि हटेको थियो ।अहिलेकै अवस्थामा नयाँ सरकार गठनका लागि बहुमत पु-याउन १ सय ३६ सांसदको आवश्यकता पर्छ ।

नेपाल पक्षका सांसदले राजीनामा दिएको अवस्थामा नयाँ सरकार गठन गर्न १ सय २४ सांसद नै पर्याप्त हुनेछन् । नेपाल समूहका सांसदले राजीनामा नदिएर सांसद कायमै रहिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको १ सय २१ जना सांसदको दाबी गर्नुहुनेछ ।

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सिंगो जसपाको साथ मात्रै पनि पर्याप्त छ । जसपाका १५ जना सांसदले मत दिने हो भने देउवा सहजै प्रधानमन्त्री बन्ने अवस्था रहेको छ ।

उपेन्द्र यादव समूहको समर्थन कायमै रहेर नेपाल पक्षले राजीनामा दिएको अवस्थामा पनि देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था रहेको छ ।

नयाँ सरकार गठनका लागि सभापति देउवा र प्रचण्डबीच सिंगो जसपा र नेपाल पक्षलाई साथमा लिएर अगाडि बढ्ने समझदारी भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभएको छ । उहाँका अनुसार देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन संवाद भइरहेको छ ।

तर जसपाका अध्यक्षद्वय यादव र डा. बाबुराम भट्टराई नयाँ सरकार गठनको पक्षमा रहे पनि अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीकै पक्षमा उभिएपछि जसपा प्रस्ट हुन सकेको छैन ।

संसद्मा यादव नेतृत्वको जसपाले ओलीको विपक्षमा मतदान गरे पनि अर्का अध्यक्ष ठाकुरले वैकल्पिक सरकार गठनमा आफूहरू सहभागी नहुने विज्ञप्ति जारी गरेपछि जसपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । अध्यक्ष ठाकुरको विज्ञप्तिले तत्काल नयाँ सरकार गठन नहुनेमा प्रधानमन्त्री ओलीलाई ढुक्क बनाएको छ ।

त्यसैकारण एमालेले अहिलेकै अंक गणितअनुसार नयाँ सरकार गठन हुने सम्भावना नरहेकाले पुनः ओली नै प्रधानमन्त्री हुने दाबी गरेको छ । तर नयाँ सरकार गठनका लागि सिंगो जसपाले देउवालाई साथ नदिएको अवस्थामा नेपाल समूहको भूमिका भने निर्णायक हुनेछ । मधुसुदन रायमाझीले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।