१ कार्तिक २०८३, शनिबार

सीमित स्वास्थ्यकर्मीले धानेको त्रिवि शिक्षण अस्पताल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २९ वैशाख । लकडाउनले सुनसान सडक हुँदै सोमबार मध्यान्ह १२ बजेतिर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा निकै भीडभाड थियो। बिरामीको चाप देख्दा कोरोना सर्ला कि भन्ने डर चस्स मनमा पस्यो। अस्पताल गेटमा लेखिएको थियो– सामाजिक दूरी कायम राखौं।

तर, अस्पताल परिसरभित्र नसोचेको भीडभाड र अस्तव्यस्तता देखियो। कतिपयले मास्क वा स्यानिटाइजर राम्ररी प्रयोग गरेका थिएनन्। केही नर्स र डाक्टर पिपिईबिनै कोरोना संक्रमितको उपचारमा खटिएका थिए। बिरामीका आफन्तले कोरोनाबाट जोगिन मास्क लगाए पनि भौतिक दूरीको भने ख्यालै गरेका थिएनन्। देशकै ठूलोमा पर्ने यो अस्पताल अहिले संक्रमितले भरिभराउ छ। र, अस्तव्यस्त पनि। वार्डका गल्लीमा समेत संक्रमित छन्। शय्या भरिएपछि बिरामीलाई बाहिर राखेर अक्सिजन दिइएको छ। कुरुवा खुम्चिएर बसेका छन्। अस्पताललाई कोभिडका बिरामीको चाप थेग्न कठिन छ। चिकित्सक, स्वास्थ्यकर्मी उपचारमा निरन्तर खटिएका छन्।

कोभिडका बिरामीले अस्पताल खचाखच भरिएपछि चिकित्सक र स्वास्थ्यकर्मी अत्तालिने अवस्था आएको छ। उनीहरू साँघुरो संरचनाभित्र पनि उपचार पद्धति सहज र फराकिलो पार्न तल्लीन छन्। तर अस्पताल प्रशासनले यस्तो बेलामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन गर्न सकेको छैन। चिकित्सकले गत वर्षको प्रोत्साहन भत्ता हालसम्म पाएका छैनन्। अस्पताल प्रशासनले पर्याप्त पिपिई र स्वास्थ्य उपकरणसमेत उपलब्ध नगराएको उनीहरूको गुनासो छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भएको जनशक्तिलाई कोभिडका बिरामी उपचारमा केन्द्रित गर्न निर्देशन दिएपछि अस्पताल प्रशासनले चिकित्सक र स्वास्थ्यकर्मीलाई एकोहोरो काममा खटाइरहेको छ। प्रोत्साहन भत्ता र आवश्यक स्वास्थ्य सामग्री नपाउँदा उनीहरूको मनोबल बढ्न सकेको छैन तर बिरामीका खाटिर खटिएकै छन्। अहिले सबैभन्दा बढी चापमा छन् चिकित्सक र नर्स। उनीहरू ज्यानै बाजी राखेर कोरोनाविरुद्ध लडिरहेका छन्। आफू संक्रमित भएर पनि उपचारमा खटिरहेका चिकित्सकले प्रशासन तथा स्वास्थ्य मन्त्रालयको व्यवहारप्रति आक्रोश पोखे। यस्तो बेलामा माथिल्लो तहका प्रमुखहरू अस्पताल नआएको र कोभिडका बिरामी सीमित स्वास्थ्यकर्मीको जिम्मा लगाएको उनीहरू बताउँछन्।

‘कोभिडका बिरामीको जिम्मा हाम्रै काँधमा छ, प्रशासन तथा कार्यालय प्रमुखले कुनै शान्त्वना दिएका छैनन्, विपन्न र गरिबको मुख हेरेर उपचार गरेका छौं तर माथिल्लोे तहका कर्मचारी अस्पताल छिर्न डराउँछन्,’ एक चिकित्सकले भने। ती चिकित्सकका अनुसार तीन दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिडका बिरामीको उपचारमा केन्द्रित गर्न अस्पताल प्रशासनलाई पत्र पठाएको छ। तर, प्रशासनले सीमित स्वास्थ्यकर्मीलाई मात्रै बिरामी उपचारमा खटाउँदै आएको छ। थोरै स्वास्थ्यकर्मी लगातार उपचारमा खटिँदा बिरामी पर्न थालेका छन्। थोरै जनशक्तिले धेरै बिरामीको उपचार कठिन हुन्छ नै।

कोरोना संक्रमितको नियमित रेखदेखमा बढी खटिने नर्स हुन्। सामान्य बेडका बिरामीलाई प्रति २/२ घण्टाको फरकमा नर्सहरूले निरीक्षण गर्छन्। उनीहरूरूले आवश्यक औषधि खुवाउने र बिरामीको अवस्था बुझ्छन्। महामारी भएकाले नर्सहरूको बिदा कटौती गरिएको छ। उनीहरू दैनिक १० घण्टा बिरामीको उपचारमा खटिने गरेका छन्। अर्जुन ओलीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।