१ कार्तिक २०८३, शनिबार

ललिता निवास जग्गा प्रकरणः ढकाललाई छाड्ने विषयमा न्यायाधीशकै राय बाझियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा भएको सुनुवाइमा ढकाललाई छाड्ने विषयमा दुई न्यायाधीशको फरक मत आएपछि मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

न्यायाधीश खतिवडाले ढकाललाई ३ करोड रुपैयाँ लिएर धरौटीमा छाड्ने आदेश लेखेका छन् भने न्यायाधीश भट्टराईले मुद्दा अन्तिम किनारा नलागुन्जेल थुनामै राख्नुपर्ने आदेश लेखेका छन् । उनीहरूको राय बाझिएसँगै अब ढकाल पुर्पक्षका लागि थुनामै रहनेछन् । यो मुद्दा ३ जनाभन्दा बढी न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाललाई मुख्य बिचौलिया बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध ढकालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

‘लगभग समान स्थितिका प्रतिवादी मीनबहादुर गुरुङलाई यही मुद्दामा धरौटी लिई विशेष अदालतबाट आदेश भएकोसमेत देखियो । विवादको प्रकृति, जग्गामा यी प्रतिवादीले हक प्राप्त गरेको तरिका, लगभग समानस्तरका प्रतिवादीबाट धरौटी जमानत लिनेगरी आदेश भएको अवस्था तथा अभियोग दाबीको स्थितिसमेतका समग्र पक्षमा तत्काल प्रमाणको रोहमा विचार गर्दा निजलाई मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नु मनासिव देखिएन,’ न्यायाधीश खतिवडाले आदेशमा लेखेका छन्, ‘तसर्थ, विशेष अदालतले २२ माघ २०७७ गरेको बेरितको देखिदा बदर हुन्छ ।’

पछि, प्रमाण बुझ्दै जादा ठहरेबमोजिम हुनेगरी शोभाकान्त ढकाललाई ३ करोड रुपैयाँ धरौटी वा सोबराबरको जमानत दिए ‘तारेखमा छाड्नु’ भन्दै न्यायाधीश खतिवडाले आदेश जारी गरेका छन् ।

न्यायाधीश भट्टराईले भने ‘ढकालमाथि कर्मचारीसमेतलाई अनुचित प्रभावमा पारी ललिता निवास क्याम्पभित्रको सरकारी सार्वजनिक जग्गा गैरकानुनी रूपमा फिर्ता दिने दिलाउने, कृत्रिम मोही खडा गर्ने, सरकारी जग्गा सरकारी र राजकुलो, बाटोसमेतका सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा कायम गर्ने काममा प्रत्यक्ष संलग्न भएको भन्दै थुनामै राख्नुपर्ने’ राय लेखेका छन् ।

ढकालले बद्नियतपूर्वक अधिकांश जग्गा आफू, आफ्नो परिवार र आफैं सञ्चालक भएको कम्पनीको नाममा लिएको भन्ने आरोपसमेत रहेको छ ।

जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाल अदालतबाट म्याद जारी भएको एक वर्षपछि २८ माघमा विशेष अदालत उपस्थित भएका थिए । विशेषले बयान गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । ललिता निवासको १ सय १३ रोपनी जग्गा प्रकरणमा विशेषले तीन अभियुक्तलाई मात्र पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न निर्देशन दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले शुक्रबार ५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

न्यायाधीशहरू खतिवडा र भट्टराईको इजलासले बस्न्यातले मन्त्रिपरिषद्को निर्णय र निर्देशनबमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सन्दर्भमा सचिवको हैसियतले विभागीयमन्त्रीसमक्ष फायल पेस गर्नेसम्मको कार्य गरेको देखिएको ठहर गरेको छ ।

उनीसरहका अन्य कतिपय पदाधिकारी साधारण तारेख वा धरौटीमा रहेको देखिएको र प्रतिवादी दीप बस्न्यात ६९ वर्ष उमेर ज्येष्ठ नागरिक देखिनुका साथै मुटुसम्बन्धी समस्या रहेको तथा परिवारका सदस्य कोभिड–१९ संक्रमण भई उपचाररत रहेको देखिएको भन्दै सर्वोच्चले तारेखमा छाड्ने आदेश दिएको हो ।