नुवाकोट, २१ चैत । नुवाकोटको प्रसिद्ध तथा सबैभन्दा ठूलो पर्वको रुपमा मनाइने ‘सिन्दुरे जात्रा’को विशेष रौनक सुरु भएको छ ।
फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवी देवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भई सुरु भइसकेको वैशाख पूर्णिमा अर्थात सिन्दुरे जात्राको विभिन्न पूजा विधिका साथ आजदेखि मनाउन लागिएको हो ।
नुवाकोटको पहिचान बोकेको सिन्दुरे जात्रा अर्थात भैरवी वर्षयात्रा यसवर्ष शुक्रबार मध्याह्न तुलजादेवी भवानीको मन्दिरमा महावली दिएसगैँ सुरु भएको छ । महावली दिएपछि साँझबाट बुढी देउताको मन्दिरमा लिङ्गो गाड्न सुरु गरी आज बिहानसम्ममा भैरवी देवी मन्दिरमा पनि लिङ्गो गाड्ने कार्य सम्पन्न गरिएको छ ।
बुढीदेवी मन्दिरमा गाडिएको लिङ्गो गएको वर्ष ढाल्ने क्रममा सन्तुलन बिग्रन गई भाँचिएकाले यसवर्षको पनि नयाँ लिङ्गो गाडिएको हो । गएराति बुढी देउताको स्थानमा र त्यसपछि आज बिहान भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो गाडेर सुरु भएको जात्रा आज अपराह्न भैरवी देवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली देवीघाटस्थित जालपादेवी मन्दिरमा प्रस्थान गरी धूमधामका साथ मनाइने भैरवीदेवी मन्दिरका द्वारे महेन्द्रकमार शाहीले जानकारी दिनुभयो ।
नुवाकोटमा रहेको भैरवीदेवी मन्दिर र देवीघाटमा रहेको जालपादेवीको मन्दिरबीचको एकताको रुपमा समेत रहेको सिन्दुरे जात्राको विशेष रौनक सुरु भई आगामी वैशाख २४ गते अपराह्नसम्म विभिन्न धार्मिक कार्यका साथ धूमधामका साथ मनाउने उहाँले बताउनुभयो ।रासस
















प्रतिक्रिया