६ कार्तिक २०८३, शुक्रबार

बालकहरूको मृत्यु प्रकरण : प्रहरीलाई अनुसन्धानमा सघाउन पीडित पक्षलाई मेयर पाण्डेको आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), २२ वैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न पीडित परिवारलाई आग्रह गरेका छन् ।

दाङको तुलसीपुरमा भएको तीन बालबालिकाको रहस्यमय मृत्यु प्रकरणका विषयमा ध्यानाकर्षण गराउन आएको दलित मुक्ति मोर्चा दाङको टोलीसँग कुरा गर्दै नगरप्रमुख पाण्डेले अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै त्यसका लागि पीडित परिवारले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

घटनालाई निष्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिएको बताउँदै नगर प्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने बताए । त्यसैगरी उनले उपमहानगरपालिकाको तर्फबाट पीडित परिवारलाई प्रतिव्यक्ति २५ हजार रूपैयाँका दरले किरिया खर्च उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा मोर्चाका अध्यक्ष सुरज परियारले घटना हत्या नै भएको बताउँदै हत्यारालाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने अडान लिए । सो अवसरमा मृतक बालकका हजुरबुबा कृष्ण गन्धर्वले घटना हत्या नै भएको दाबी गर्दै हत्यारालाई तत्काल सार्वजनिक गर्नुपर्ने माग राखे ।

तुलसीपुरको स्याउली बजारमा वैशाख १९ गते RJ0ICC0885 भारतीय नम्बरको कारमा तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँनिवासी भीमबहादुर परियारका ९ वर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार मृत अवस्थामा भेटिएको थियो ।