बैंकको जागिर त्यति सजिलो छैन । त्यसमाथि पनि सिइओको भूमिका । उनीहरुलाई भेट्न समेत निकै सकस पर्छ । लाग्छ, उनीहरुको दिमाग २४ सै घण्टा पैसाले ह्याङ बनाइरहेको हुन्छ, बैंकभन्दा पर केहि सोचिरहकै हुँदैनन् ।
गोविन्दप्रसाद उपाध्याय पनि एपेक्स डेभलेपमेन्ट बैंकका सिइओ हुन् । तर उनको दिमागमा बैंक मात्र होइन, त्यो भन्दा अर्को कुरा पनि घुमिरहेको हुन्छ । त्यो हो गीत, संगीत । गीत त सबैले सुन्लान्, गोविन्दले भने लेख्छन् पनि । उनकै गीत हो, ‘कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको, कहाँ विसाउँ कता पुगाउँ कथा जिन्दगीको ।’ जुन अहिले चर्चामा छ ।
सम्बन्धविच्छेद गरेका अञ्जु पन्त र मनोजराजले गाएको गीत पनि उनीहरुकै जीवनी जस्तो सिर्जना गरेका थिए गोविन्दप्रसादले, ‘कस्तो माया लाइयो हजुर, आँशु मात्रै पाइयो हजुर, झुटो पिरतीमा ।’ सत्यता–२ मै संग्रहित निकिता थापाले गाएको ‘म त तिम्रो नफापेको मान्छे, भो माया नगर मलाई धेरै’ बोलको गीतले पनि निकै चर्चा पायो ।
उनको बैंकिङ संघर्ष र अनुभव लामो छ । त्यो भन्दा पनि जेठो छ, गीतप्रतिको लगाव । फरक यत्ति हो, बैंकिङ छरपस्ट भए, गीतहरु डायरीमै सीमित रहे ।
विगत एकवर्षदेखि एपेक्स बैंकका सिइओको कुर्सीमा बसिरहेका गोविन्दप्रसाद डेढ दशकदेखि बैंकिङ क्षेत्रमा संघर्षरत छन् । १५ वर्ष पहिले नेपाल बंगलादेश बैंकको म्यानेज्मेन्ट ट्रेनीबाट उनको बैंकिङ करिअर शुरु भएको थियो । ६ वर्षपछि कुमारीपाटी र नेपालगञ्ज ब्राञ्च म्यानेजर बने । त्यसपछि उनी एनआइसी (हालको एनआइसी एसिया)मा १ वर्ष बिताए अनि सिटिजन्स बैंकको स्थापनासँगै त्यतै हानिए । सिटिजन्समा ७ वर्ष बिताएपछि ज्योति विकास बैंकमा सिइओको भूमिकामा देखिए । जुन भूमिका ८ महिनासम्म निर्वाह गरे ।
जब उनी (बिक्रम सम्वत २०४७) सालमा पोखराको पीएन क्याम्पसमा बढ्दै थिए । त्यतिबेला देखिनै गीतप्रति उनको आकर्षण बढ्दै थियो । पत्रपत्रिका छापिएका कविता पढ्थे । त्यसैबाट प्रेरित भएर गीत, कविता लेख्थे । उनी पीएनबाट शंकरदेवमा आएर डिग्री सक्काए । संघर्ष गर्दै सिइओको पदमा पुगे । उनको डायरीमा एक हजार भन्दा बढी गीतहरु थुप्रिए, तर पनि गीत रेकर्ड भएनन् । या भनौँ गोविन्दप्रसादले रेकर्ड गराउने आँटै गर्न सकेनन् ।
भन्छन् नि ‘एक पटक सबैको पालो आउँछ ।’ गोविन्दप्रसादको हकमा पनि यस्तै भयो । जब उनले अग्रजको सल्लाहमा २०७० साल जेठ ५ गते सत्यता नामको पहिलो एल्बम रेकर्ड गएर । त्यसपनि उनले जे सोचेका थिएनन् त्यहि भैदियो । सत्यता एल्बम बर्षकै हिट एल्बम बन्यो । उनले खुसी व्यक्त गर्छन, ‘पहिलो एल्बमले नै मलाई वेष्ट एल्वम अफ द एल्बम इयरकोे ह्याट्रिक अवार्ड जितायो ।’ सत्यतामा १० गीत संग्रहित थिए ।
गोविन्दप्रसादले भने, ‘एक हप्तामै रेस्पोन्स देखियो । टिभीहरुबाट प्रोमो बज्न थाल्यो । अन्जु पन्तले गाएको गीत ‘कहिले मिलन कहिले विछोड कथा जिन्दगीको, कहाँ विसाउँ कता पुगाउ कथा जिन्दगीको’ बोलको गीत निकै रुचाइयो र यसैबाट स्रोताहरुले मलाई चिन्ने अवसर पाउनुभयो । यसबाट मलाई पनि कन्फिडेन्स जाग्यो ।’
सत्यता एल्वमको सकारात्मक प्रतिक्रियाबाट हौसिएर गत जेठमा सत्यता–२ एल्बम पनि बजारमा ल्याए । जुन एल्बमले सम्बन्धविच्छेद गरेका अञ्जु पन्त र मनोजराजलाई एकै ठाउँमा भेट गराइदियो । अञ्जु र मनोजराजले गाएको गीत पनि उनीहरुकै जीवनी जस्तो सिर्जना गरेका थिए गोविन्दप्रसादले, ‘कस्तो माया लाइयो हजुर, आँशु मात्रै पाइयो हजुर, झुटो पिरतीमा ।’ सत्यता–२ मै संग्रहित निकिता थापाले गाएको ‘म त तिम्रो नफापेको मान्छे, भो माया नगर मलाई धेरै’ बोलको गीतले पनि निकै चर्चा पायो ।
स्याङ्जाको पुतलीबजारमा २०३० सालमा जन्मिएका गोविन्दप्रसाद पेशाले बैकर भएपनि उनको दिलमा भने गीत घुमिरहेको हुन्छ । भन्छन्– ‘अहिले पनि फुर्सदको बेला दिनमा एउटा, फुर्सद नभए पनि हप्तामा १/२ वटा गीत भने लेखिरहन्छु ।’ लेखनीमा भने उनी सचेत छन् । भन्छन्, ‘गीत भनेको दिलबाट लेखिनुपर्छ, जसले स्रोताको मन छोओस् ।’ उनले गीत लेख्दा शव्दलाई कसरी युनिक ढंगले प्रयोग गर्न सकिन्छ भनेर सोछिरहन्छन् रे ।
गोविन्दप्रसादको तनावबाट मुक्त हुने माध्यम पनि गीत बनेको छ । भन्छन्, ‘कार्यकारी प्रमुख भैसकेपछि हरेक दिन च्यालेन्जिङ हुन्छ । तर बैंक र सङ्गीत दुवैमा रिक्स पनि छ, मजा पनि छ । म त हरेक कुरामा मनोरञ्जन गर्छु, चाहे जस्तोसुकै समस्या किन नआओस । तनावलाई कम गराउन गीत लेख्छु ।’
सत्यता १ र २ को सफलतासँगै उनीसँग चलचित्रको लागि गीत माग्न आउने पनि कम छैन । नयाँ गायक, गायिकाहरुले पनि आफ्नो धेरै गीतहरु लगेर गाएको उनी बताउँछन् । गीतकार भनेर सम्मान पाउँद उनी गद्गद् छन् । गीतकारकै रुपमा प्रचारमा उनी गीतकार संघको कोषाध्यक्ष समेत बनेका छन् । तर दुःखी छैनन् । उत्साह प्रदर्शन गर्छन, ‘नयाँ आउने भाइबहिनीलाई गीतकार बनाउन प्रशिक्षण दिन्छु ।’
गोविन्दप्रसाद अहिले सत्यता–३ एल्बमको तयारीमा छन् । सत्यता ३ मा भने गजल समावेश गर्ने उनी बताउँछन् । नेपालमा गजल एल्बमको कमी भएकाले गजलमा जोड दिएको समेत उनले खुलाए । करिव चार गीत समावेश गरेर नयाँ वर्षमा एल्बम रिलिज गर्ने उनको तयारी छ ।
उनले सोचेका थिएनन कि जीवनमा आफ्नो गीत रेकर्ड गराउँछु भनेर । तर आज उनी आफै दंग छन्, आफ्नो गीतहरु हिट् भएकोमा । भन्छन्, ‘जोखिम र पैसासँग खेल्ने मान्छे आज भावनासँग खेलिरहेको छु ।’
अब उनको मनमा गीतले यसरी बास गरेको छ कि, कहिल्यै पनि त्यसबाट उनी मुक्त हुन सक्दैनन् । उनी भावुक बन्छन्, ‘मरुञ्जेलसम्म सङ्गीतलाई निरन्तरता दिनेछु । बैंकको सिइओको जागिर निश्चित अवधिमा छोड्न सकिन्छ । तर सङ्गीतमा सास रहुन्जेल आश हुन्छ । जति बुढो भएपनि सिर्जना कोर्न छोड्दैन् ।’ गोविन्दप्रसाद संगीतमा आफूले लिनभन्दा पनि केही दिन आएको बताउँछन् ।
प्रस्तुति: कमलराज भट्ट र विश्वास खड्काथोकी/दैनिक नेपाल













प्रतिक्रिया