
काठमाडौं, २१ वैशाख । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पीएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालनमा आएको छ ।
कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम यूएनओपीएसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार उक्त सिस्टमको निरीक्षण गर्नाका साथै यसले काम गर्ने पद्धतिबारे जानकारी समेत लिएका छन् । साथै उनले अस्पतालका विभिन्न विभागहरू, कोभिड–१९ बाट संक्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पीसीआर परीक्षणस्थल लगायतको निरीक्षण गरे ।
सो अवसरमा महानिरीक्षक थापा क्षेत्रीले अक्सिजन सिस्टम निर्माणमा सहयोग पुर्याउने यूएनओपीएसलाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार पद्धति तुलनात्मक रुपमा अझै राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।
क्षेत्रीले अस्पतालले उत्कृष्ट सेवा दिने र बिरामी निको पार्ने विषयमा सबैले एकीकृत प्रयास गरी काम गर्नुपर्ने बताए । राम्रो सेवा, असल व्यवहार र उपलब्ध साधन स्रोत तथा जनशक्ति व्यवस्थापनमा अझै सुधार गर्दै समूहगत रुपमा लड्यौं भने वर्तमान महामारीलाई परास्त गर्न सहज हुने उनको भनाइ छ ।
चुनौतीपूर्ण अवस्थामा जोखिम मोल्दै अस्पतालले राम्रो काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत चुनौतीलाई अवसरको रुपमा लिएर चनाखो भई ईमानदारी पूर्वक काम गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिएका छन् ।
उपचारका साथै विरामी र तिनका आफन्तलाई सूचना तथा सुझाव दिने, विरामीको अवस्था बुझ्नका लागि छुट्टै टेलिफोनको व्यवस्था गर्ने, काउन्सिलिङ गर्ने र आफ्नो कर्तव्यप्रति दत्तचित्त भई लाग्नुपर्नेमा उनले जोड छ ।















प्रतिक्रिया