२९ आश्विन २०८३, बिहिबार

म र जीवन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सुदर्शन जोशी ‘तेजस्वी’

म को हुँ ? कहाँबाट आएँ ? र किन यो संस्सारमा आए र कहाँ जानेछु ? यी प्रश्नहरु म को आन्तरिक र बाह्य संसारका लागि महत्वपूर्ण छन् । म रुपान्तरित हुन एवं, सर्वाेत्कृष्ट जिवन जिउनका लागि समेत आवश्यक छन् ।

हेर्नुहोस् प्रत्यक म जन्मेको कोख, स्थान, त्यहाँको संस्कार, वातावरण, धर्म, मान्यता, स्थिति आदि । म हुर्केको, अहिले रहेको र भोलि हुने अबस्थाको बारेमा पनि चिन्तन गर्न सकिन्छ ।

त्यसैले म मनन गरि लेख्दछुः–“म यो संसारमा आउँदा केही नलिई जन्मेँ, संसार छोडेर जादा पनि केही नलिई जानेछु । तर यो सुन्दर जिवनमा म एउटा उत्कृष्ट कुराको प्राप्ति गर्न सक्छु । म सानो स्मृति बनेर कसैको मानसपटलमा र सानो ठाउँ लिएर कसैको हृदयमा बस्न सक्छु ।

जीवन एक सुन्दर रङहरूको मिश्रण हो ! जहाँ असलता, कुशलता एवं सत्यको जित भएको हुन्छ । प्रेरणा, करुणा र मानवताले जीवनलाई अझै बढी रंगिन र सुगन्धित बनाउँछ ।

त्यसैले म ७ रंग र ७ जिवन संग रमाउँछु । म हेर्दछु । म सुन्दछु । म स्पर्श गर्दछु । म स्वाद लिन्छु । म महसुस गर्छु । म मुस्कुराउँदछु । म प्रेम गर्दछु । हुन त मेरा लागि सबै रंगहरु समान छन ।

चाहे ती सुखका वा दुखका नै किन नहुन । यो समाजले रङलाई पनि जीवन यात्रा संग जोडेर बाढेको छ । तर जुन रङरुपि रसलाई पनि निरस वनाएर समभावले जिन्दगि जिउने प्रयत्न गर्दछु ।

म एक पात्र जीवनको यात्रामा चलिरहदा लाग्दछ जीवन पुस्तक हो । जुन पुस्तकको एउटा पानामा दुख, अर्काे पानामा सुख र अर्काे पानामा अकस्मात केही आउछ ।

तर पुस्तकका पानाहरु पल्टाउदै अध्ययन, अनुसरण, अनुभव र आदान प्रदान गर्न म छोड्दिन । त्यहि मलाई जे जस्तो परेपनि म निरन्तर सक्रिय भैरहने यात्रा नै जीवन र म हो ।

एउटा आँपको रुखलाई हेरौँ । बिरुवा वाट घाम, पानी, असिना, दुसारो एवं रोगहरु संग लड्दै रुख बन्दछ । आफ्नो फुल्ने मौसममा फुल्दछ, अनि बिस्तारै असिना पसिना संग जुद्दै फल बन्दछ । जो जुद्न सक्दछ उ मात्र बाच्दछ । नत्र झर्दछ । विलाउदछ ।

हावा हुरि संगै संगै हराउदछ । फलेका मध्य कति मानिसलाई मन पर्ने हुन्छन, कति किरालाई, कति भमरालाई । अनि त्यो रुखको उमेर पुग्दै गएपछि मर्न शुरु हुन्छ तर काढ, दाउराको प्रयोगमा लाग्दछ ।

रुखले भनिरहेछ म प्रकृति हो म वाट अन्न(फल), सुगन्ध(फुल), मनोरञ्जन(हराभरा), प्राण(अक्सिजन), घर(काठ), आगो(दाउरा)..लेउ र प्रकृति प्रेमि बन, सबैको जिवनको अर्थ बुझ । एउटा आपको रुखलाई हेर्दै म आफ्नो जिवनको अर्थ वुझ्न सक्छु ।

जिन्दगी एउटा गोरेटो हो, जुन कहि पुग्नको लागि सृजित भएको छ । धेरै कालखण्डहरु वितिसके र वित्दैछन्, कपाल उम्रिएर जवानि हुँदै फुलिपनि सक्यो ।

अझै जीवन को अर्थ बुझिएको छैन । अब कहिले वुझ्ने त मैले म लाई वा आफ्नो जिवनलाई, त्यसैले “अब नवुझे कहिले वुझ्ने, मैले नवुझे कस्ले बुझ्ने ।

किन म जिवन लाई वुझ्न सकिराखेको छैन त भन्दा म जिवनमा एउटा उदेश्य लिएर जन्मिएको छु तर अर्कै विधि अपनाई जीवन हाकि रहेको हुन्छु ।

म मनमा कुरा खेलाउँदै छुः–
“खोज्यो स्वर्गीय जीवन,
गर्याे पापको कर्म,
जान्दैन कर्मको गति,
खिर्राको रुख रोपेर
कहाँ फल्छ कागति !!”

त्यसैले अब म जीवनको अर्थ वुझ्नको लागि भन्दछु ।

“खोजौ स्वर्ग
गरौ सु कर्म,
जानौ कर्मको गति,
असलताको गुण रोपेर
सपारौ आफ्नो मति !!”

म संगै रहेको जिवनलाई प्रत्यकले पल पल पाईला पाईलामा नै सचेत राख्ने र जिवनमा तेज पैदा गरि खुसि दिदै खुसि हुने र प्रेरणा दिदै प्रेरित हुने सचेत क्रान्तिको यात्रा शुरु गरौ र धेरै जिवनको अर्थ वुझ्ने महरु बनाऔ, है मित्रहरु।

जिवनमा म दुई मित्र, सिसा र छाया बनाएर राख्ने प्रयत्न गर्दैछु । किनकि सिसाले कहिल्यै झुटो वोल्दैन र छायाले कहिल्यै साथ छोड्दैन । अनि बल्ल जिवनले सार्थकता पाउने पक्का छ ।

“सुगन्धित ईत्रले वातावरणलाई महक दिन्छ !
सचेत जिवनले समाजको स्वस्थ चरित्रलाई चमक दिन्छ !”

म किन लेख्दैछु भन्दा सबैको खुसि र प्रेरणाको लागि । म किन बाच्दैछु त सत्कर्म र सहयोगापेक्षिको सेवाको लागि । म भ्याई नभ्याई गर्ने छैन ।

म जिवनलाई सुगन्धित, स्वस्थता एवं सर्वाेत्कृष्टता बनाउने प्रयत्न गर्नेछु । हो म सक्छु प्रत्येक कोरोना जस्ता समस्याहरुको सामना गर्न। किनकि जस्तो सुकै लकडाउनले पनि मेरो सृजनशिलतालाई रोक्ने र छेक्ने छैन ।

म पञ्चतत्व हु । म को जन्म, जीवन र मृत्यु पञ्चतत्वको रुपान्तरण हो । म को यात्रा भनेको तेज, प्रकाश वा सचेतना हो । म संग राम्रो गर्ने र नराम्रो गर्ने दुवै शक्ति छ ।

लेखक अधिवक्ता तथा सचेत क्रान्तिका सोचकर्ता हुन् ।