सप्तरी, २० चैत । कीर्ते गरी नागरिता बनाएको अभियोगमा जिल्ला अदालतले एक प्रशासकीय अधिकृतसहित १३ जनालाई आज जरिवाना र कैदको फैसला गरेको छ ।
प्रशासकीय अधिकृत, गाविस सचिव र एक प्रहरी सहायक निरीक्षकसहितलाई एक वर्षको कैद र जनही रु २० हजारका दरले जरिवाना सुनाइएको अदालतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की, काचन गाविसका सचिव नवोनाथ मिश्र र प्रहरी चौकी काचनका प्रहरी सहायक निरीक्षक सत्यनारायण महतो तथा सनाखत बस्ने अन्य १० जनामाथि फैसला सुनाइएको हो ।
न्यायाधीश रामप्रसाद अधिकारीको इजलासले उनीहरुलाई कैद र जरिवानाको फैसला गरेको बताइएको छ । यस्तै सनाखत बसेका काचन गाविसका शिव यादव, बुद्धिलाल दास, सतदेवी चौधरी, नन्दी यादव, चलितर दासलगायत रहेको अदालतले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१ बस्ने प्रह्लादशम्शेरका छोरा ज्योतिशम्शेरका नाममा सप्तरी काचन २, ३, ४, ६ र ७ मा रहेको करिब २४ बिघा जग्गा हडप्ने नियतले स्थानीयवासी एक व्यक्तिलाई जग्गाधनी ज्योतिशम्शेरका नाममा झुठो विवरण पेस गरी नागरिकता बनाइदिएको अभियोगमा प्रशासकीय अधिकृत कार्की, गाविस सचिव मिश्र र प्रहरी महतोलाई सप्तरी प्रहरीले गत वैशाखमा पक्राउ गरी कीर्ते नागरिकताको मुद्दा चलाएको थियो ।
ज्योतिशम्शेरका नामबाट ती अपरिचित युवकको तस्बिर टाँसी गत वैशाख महिनामा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिइएको थियो । ती व्यक्तिको नाममा जारी भएको १६–०१–७१–००५९४ नंको नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृत कार्कीको हस्ताक्षर रहेको बताइएको छ । रासस















प्रतिक्रिया