काठमाडौं, १४ वैशाख । कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ । त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् ।
त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् ।
‘पछिल्लो समय अक्सिजनको माग तेब्बर पुगेको छ । भारतका कोभिडसम्बद्ध समाचार प्रभाव र अक्सिजन अभाव हुने अनुमानले दैनिक १५/२० जना व्यक्ति कोभिडको शंका लागेर अक्सिजन लिन आउने गरेको उनीहरूको भनाइ छ । ‘अहिलेसम्म माग धानिरहेका छौं,’ सगरमाथा अक्सिजन नेपाल प्रालिका रिकेश महर्जनले भने । सगरमाथा अक्सिजनमा रहेका करिब १० हजार सिलिन्डरमध्ये प्रायः होल्डिङमा छन् । ७/८ सय रोटेसनका क्रममा रहेको उद्योगले बताएको छ ।
संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयात/खरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई कृत्रिम अक्सिजन दिनुपर्छ । तर उद्योगबाट रिफिल गरेर पठाउन आफूहरूलाई सिलिन्डरकै समस्या रहेको उद्योगीहरूको गुनासो छ । ‘धेरै सिलिन्डर होल्डिङमा हुन्छन् । ३/४ सय सिलिन्डर रोटेसनमा छन् । अहिलेसम्म चलिरहेकै छ,’ शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने । ‘हरेक अस्पतालमा माग बढ्दो क्रममा रहेकाले सरकारले सिलिन्डरको आयात संख्या बढाउनुपर्छ । थप सिलिन्डर आयात नभए समस्या हुन सक्छ,’ उनले भने ।
भण्डारीको उद्योगमा करिब १२ हजार सिलिन्डर छन् । तर उक्त संख्या पर्याप्त होइन । उद्योगीले सिलिन्डरमा सधैंभर लगानी गर्न नसक्ने भएकाले सरकारले सहुलियत वा छुटमा मगाउनुपर्ने उनले बताए । नेपाल अक्सिजन ग्यास उत्पादक संघका अनुसार अक्सिजन सिलिन्डर नेपालमा बन्दैनन् । चीन र भारतबाटै आयात गर्नुपर्छ । पछिल्लो समय भारतमा कोभिडका बिरामी धेरै भएकाले समस्या छ । आधिकारिक रूपमा आग्रह गरे पनि भारतबाट आयात हुने सम्भावना कम छ । चीनबाट ल्याउन सकिन्छ, त्यसका लागि सरकारले पहल गर्नुपर्ने उद्योगीहरूको भनाइ छ ।
‘आयात प्रक्रिया पूरा गरी नेपाल ल्याउन करिब २/३ महिना नै लाग्छ,’ भण्डारीले भने, ‘नेपालमा पनि अक्सिजन अभाव हुन नदिन सरकारले सिलिन्डरका लागि तुरुन्त पहल गर्नुपर्छ । सरकारले जीटूजीमार्फत पहल गरे एक महिनामा पनि ल्याउन सकिन्छ ।’ भारतकै अवस्था देखेर आत्तिएर अक्सिजन सिलिन्डर मौज्दात नगर्न पनि उनले सर्वसाधारणलाई आग्रह गरे । ‘सामान्य अवस्थाको मान्छेले मौज्दात राख्नु हुँदैन । जरुरी पनि भइसकेको छैन,’ उनले भने, ‘अक्सिजन एलपी ग्यासजस्तो होइन, हामी अक्सिजनमा आत्मनिर्भर छौं । बरु कहीँ–कतै सिलिन्डर खाली भए तत्काल फिर्ता गरौं ।’
एभरेस्ट अक्सिजनका सञ्चालक शिवप्रसाद घिमिरेले पनि अक्सिजन पर्याप्त भए पनि सिलिन्डरको अभाव रहेको प्रस्ट्याए । ‘अक्सिजन सिलिन्डर अस्पताल, उद्योग र दमका बिरामीले लगेका हुन्छन्,’ उनले भने, ‘भइरहेका उद्योग ६० प्रतिशत मात्रै चलेका छन् । सिलिन्डर भए जति पनि अक्सिजन दिन सकिन्छ ।’ नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार उपत्यकामा अक्सिजनका ८ वटा उद्योग छन् भने उपत्यकाबाहिर १८ उद्योगले उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ४० प्रतिशत अक्सिजन औद्योगिक क्षेत्रले प्रयोग गरिरहेका छन् । राजु चाैधरीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया