१ कार्तिक २०८३, शनिबार

लोकसेवा आयोगकै गम्भीर त्रुटि

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ ।

आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा आयोगका पदाधिकारी छनोट गर्न गठित सिफारिस समितिले हचुवा र आफ्नै रुचिअनुसारका व्यक्ति छनोट गर्नेगरी सिफारिस प्रतिवेदन तयार पारेको पाइएको छ । समितिले त्यसरी तयार पारेको प्रतिवेदन गत ४ फागुन २०७७ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष पेस गरेको थियो ।

लोकसेवा आयोगले हचुवा प्रकृतिले सिफारिस प्रतिवेदन तयार गरी पेस गरेको दाबी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो सिफारिसलाई कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ । त्यसैले, मन्त्रालयले सो प्रतिवेदनलाई सरकारसमक्ष पेस गर्नुको साटो उल्टै लोकसेवा आयोगमा फिर्ता पठाइदिएको छ । योसँगै शिक्षा सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया थप अन्योलमा परेको हो ।

आयोग अध्यक्षको अध्यक्षतामा रहेको सिफारिस समितिले तयार पारेको सिफारिस प्रतिवेदनमा शिक्षक सेवा आयोगका पदाधिकारी सिफारिस गरिएको भन्नुपर्नेमा कार्यविधिसम्बन्धी व्यवस्थामा स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक भन्ने वाक्यांश पर्न गएकाले सिफारिस समितिले हतारहतारमा हचुवाको आधारमा अध्यक्षलगायतका सदस्यको सिफारिस गरेको पुष्टि हुन्छ ।

तालुक निकायको रूपमा रहेको शिक्षा मन्त्रालयले सिफारिस समितिले पेस गरेको प्रतिवेदनको अध्ययनबाट वस्तुनिष्ठ रूपमा मूल्यांकन र सिफारिस भएको नदेखिएकाले पुनः सिफारिसका लागि लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा रहने सिफारिस समितिसमक्ष आग्रह गरेको छ ।

तर, आयोग अध्यक्ष मैनालीको अध्यक्षतामा रहेको सिफारिस समितिले भने मन्त्रालयको आग्रहलाई ठाडै अस्वीकार गर्दै आफूहरूले गरेको सिफारिस निष्पक्ष रहेको स्पष्ट पारेको थियो । तर, अहिले लोकसेवा आयोगका अध्यक्षलगायत सबै पदाधिकारी सेवानिवृत्त भएपछि आयोग पूर्ण रूपमा पदाधिकारीविहीन अवस्थामा छ ।

शिक्षा ऐन २०२८ को दफा ११ (ख) को उपदफा (३) बमोजिम शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्यका लागि सरकारलाई सिफारिस गर्न २०७७ साल १९ असोजमा लोकसेवा आयोगका अध्यक्ष मैनालीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन भएको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।