मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

टेलिहेल्थ सेवा प्रयोग गर्न एनआरएनए स्वास्थ्य समितिको आग्रह

दैनिक नेपाल २०७८ वैशाख १२ गते १६:००

काठमाडौं, १२ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले टेलिहेल्थ सेवा प्रयोग गर्न विदेशमा रहेका नेपालीहरुमा आग्रह गरेको छ ।

एनआरएनलेले शुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने व्यवस्था मिलाएको बताइएको छ । यो सेवाका लागि समितिको आधिकारिक ई–मेल ठेगाना [email protected] मा समस्या पठाएर परामर्श लिन सकिने एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।

स्वास्थ्य समितिले दुई वटा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेश्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ को सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गर्न लागेको पनि जानकारी दिएको छ ।

समितिका संयोजक डा. सन्जिव सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर कोभिड– १९ बाट जोगिन र संक्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्ने बारेमा नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिएका छन् ।

यस्तै संघका महासचिव डा. हेमराज शर्माले महामारीकै बीच पनि ५० वटा देशका ३०० वटा शहरमा २ हजार ५०० जना स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार एनआरएनएमार्फत १ लाख ७० हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको छ । त्यस्तै, संघका संरक्षक एवंम पूर्वअध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनएले नेपालीलाई सघाइरहेको बताए ।

उनले संसारभर छरिएका स्वास्थ्यकर्मीले सामूहिक रुपमा सीमित श्रोतसाधनबाट काम गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित