१ कार्तिक २०८३, शनिबार

सरकार संकटमा पर्न थालेपछि अधिवेशन अन्त्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ८ वैशाख । प्रतिनिधिसभाको हिउँदे अधिवेशन सोमबार एकाएक अन्त्य हुनुमा सरकारमाथि मडारिएको संकट मुख्य कारक रहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार १ बजे बोलाएको प्रतिनिधिसभा बैठकका लागि आवश्यक तयारी गरिरहेका बेला उनीसँग परामर्श नगरी सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

सत्तारुढ एमालेसँगको सहमतिमा सभामुख सापकोटाले मंगलबारका लागि प्रतिनिधिसभा बैठक बोलाएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारले सभामुखसँग परामर्श नगरी अधिवेशन अन्त्य गर्नु संसदीय अभ्यासविपरीत हो। ओली सरकारको यो कदमले सभामुखको मात्र होइन, संसदीय व्यवस्थाको पनि अपमान भएको राजनीतिक विष्लेषण छ। प्रायः संसद् अधिवेशन अन्त्य राति ९ बजेदेखि लागू हुनेगरी गरिएको इतिहास छ।

तर यो अधिवेशन दिउँसो १ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको छ। राष्ट्रपतिबाट पठाइएको अधिवेशन अन्त्य भएको पत्रमा सभामुखलाई सम्बोधन गरिएको छ। यसअघि संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर अधिवेशन अन्त्यको पत्र पठाइन्थ्यो। गएको बर्खे अधिवेशन अन्त्यको सिफारिस गर्दा पनि सभामुखसँग सल्लाह गरिएको थिएन। ‘बर्खे अधिवेशनमा पनि ओलीलाई आफूविरुद्धको अविश्वासको प्रस्तावको भय थियो भने अहिले पनि उनलाई त्यसैको भयले सताएको हो,’ स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले संसद्लाई यसरी अपमान गरिरहँदासमेत अन्य राजनीतिक दल मूकदर्शक बन्नुले पनि नेपालको राजनीति निकै जटिल मोडमा रहेको बुझ्न सकिन्छ। मुख्यगरी नयाँ सत्तासमीकरणमो मुख्य भूमिकामा देखिएको जनता समाजवादी पार्टीले निर्णय लिन नसक्दा राजनीति अन्योलग्रस्त बनेको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले आफूमाथि समस्या आउने देखेर त्यसबाट बच्न एकाएक प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको माओवादीका एक नेताले बताए। ‘प्रधानमन्त्री ओली संसद्लाई सधैं नियन्त्रणमा राख्न चाहन्छन्। नियन्त्रण गर्न नसक्दा उनले प्रतिनिधिसभा विघटन गरे। अधिवेशन अन्त्य त उनका लागि कुनै ठूलो कदम होइन,’ ती नेताले भने। इश्वरी सुवेदीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।